ओलीसँग राजावादीको कार्यगत एकता छः उपेन्द्र

काठमाण्डु टुडे २०७७ पुष २८ गते १५:२४ मा प्रकाशित

काठमाण्डु, २८ पुस– जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीका कारण नेपाल विदेशीको खेल मैदान बन्ने खतरा बढेको दाबी गरेका छन् ।

यादवले जननिर्वाचित प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदममा समेत विदेशीको चाहना लुकेको बताए । तर, उनले कुन देशको उक्साहटमा ओलीले त्यस्तो कदम चालेका हुन भन्नेबारे स्पष्ट गरेनन् । पहिलो र दोश्रो विश्वयुद्धकालीन समयमा युरोप संसारको ‘कन्फ्लििक्ट जोन’ रहेको भन्दै उनले अब एसिया प्यासिफिक क्षेत्र त्यस्तै हुने बताए । ओलीको कदमले नेपाल ‘कन्फ्लिक्ट जोन’ को हिस्सा बनेको टिप्पणी यादवको छ ।

‘विदेशी शक्तिका मानिसहरु काठमाण्डु धायको धायै छन्’, पर्साको वीरगञ्जमा मंगलबार आयोजित पत्रकार सम्मेनलमा यादवले भने, ‘ओलीले नेपाली भूमिलाई विदेशीको खेल मैदान बनाउँदैछन् ।’ यादवले भारत र चीन दुवैसँग समदुरी र समानतामा आधारित सम्बन्ध राख्नुपर्नेमा ओलीले कहिले चीन र कहिले भारत ढल्कने महेन्द्रकालिन राष्ट्रवादको अभ्यास गरिरहेको आरोप लगाए ।

यादवले प्रधानमन्त्री ओली मुलुकमा निर्वाचन गराउने पक्षमा नरहेको भन्दै उक्त भ्रमबाट सबै मुक्त हुनुपर्ने बताए । प्रतिनिधिसभा विघटनलाई सही रहेको भ्रममा पार्न मात्र ओलीले मध्यावधि निर्वाचनको तुरुप फ्याँकेको टिप्पणी यादवले गरे । ओलीको नेतृत्वमा हुने निर्वाचनलाई कसैले विशवसनीय मान्न पनि नसक्ने यादवले स्पष्ट गरे ।

ओलीले २०६२/०६३ को जनविद्रोह, मधेस विद्रोह, माओवादी विद्रोह र जनजाति आन्दोलनबाट प्राप्त गणतन्त्र, मर्धनिरपेक्षता, समावेशी, समानुपाकि प्रतिनिधित्व जस्ता राजनीतिक उपलब्धी मास्न प्रतिगामी शक्तिहरुसँग साँठगाँठ गरेको आरोप यादवले लगाए । ओलीले प्रतिगामी, गणतन्त्र, संघीयता र लोकतन्त्रविरोधीसँग अघोषित कार्यगत एकता गरेको यादवको आरोप छ । ओलीले जननिर्वाचित संस्थामाथि प्रहार गरेर लोकतन्त्र कमजोर पारेको मौकामा गुमेको सत्ता फर्काउन सकिन्छ कि भन्ने मनसायका साथ अलोकतान्त्रिक र निरंकुश शक्ति हौसिएको चर्चा गर्दै यादवले त्यो सम्भव नरहेको बताए ।

‘मौकामा चौका हान्न पाइन्छ कि भनेर निरंकुशताका पुजारीहरु हौसिएका छन्’, यादवले भने, ‘यो ०१७ साल होइन, ०७७ साल हो । नेपाली जनता धेरै सचेत भइसकेका छन् ।’ संसद पुर्नस्थापनामार्फत लोकतन्त्र रक्षाका लागि आफूहरु प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपा, काँग्रेससहितका दलसँग संयुक्त मोर्चा बनाएर आन्दोलनमा जाने तयारीमा हरेको यादवले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us