काठमाण्डु, २४ पुस– नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी ओलीलाई संविधान पठाएको छ ।
संसद पुर्नस्थापनाको मागसहित आन्दोलन घोषणा गरेको प्रचण्ड–नेपाल समूहको राष्ट्रिय कार्यक्रमअन्तर्गत ओलीलाई संविधानको प्रति पठाइएको हो । नेकपा काठमाण्डुका सचिव हिमाल शर्माले प्रमुख जिल्ला अधिकारीमार्फत संविधानको पुस्तक पठाइएको बताए ।
‘संविधानमा बहुमतको प्रधानमँन्त्रीले संसद विघटन गर्ने व्यवस्था छैन’, शर्माले भने, ‘हुँदै नभएको अधिकार प्रयोग गरेको हुनाले संविधानको प्रावधान स्मरण गराउन संविधान पठाएका छौैं ।’
संविधान बुझाउनुअघि नेकपा कार्यकर्ता जुलुससहित जिल्ला प्रशासन पुगेका थिए । नेकपाले देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत संविधान पठाउने कार्यक्रम तय गरेको छ ।