
सुर्खेत, २१ पुस– खानेपानी मन्त्री एवं नेकपा ओली समूहका नेता मणिचन्द्र थापाले आगामी निर्वाचनसम्म नेकपाका दुई समूहबीच पार्टी एकता हुने दाबी गरेका छन् ।
सुर्खेतमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै थापाले चुनावमा नेकपा एकीकृत हुने दाबी गरे । नेकपाका दुवै समूह एक हुनुको विकल्प नरहेको थापाको भनाइ थियो ।
‘नेकपाका दुवै समूह मिलेर चुनावमा जाने वातावरण बन्छ’, थापाले भने, ‘यो मुलुकको आवश्यकता हो, यसको विकल्पै छैन ।’
थापाले मुलुकलाई अस्थिरताबाट बचाउन प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको जिकिर गदै उनले उक्त कदम अग्रगामी भएको उल्लेख गरे । मुलुकले ताजा जनादेश खोजेको भन्दै उनले निर्वाचनको विकल्प नरहेको बताए ।