

काठमाण्डु, ९ पुस– काँग्रेस नेता रामचन्द्र पौडेलले आफूलाई जनप्रिय दाबी गर्ने प्रधानमन्त्री केपी ओलीलाई आफूसँग चुनाव लड्न तनहुँ आउँन चेतावनी दिएका छन् ।
काँग्रेस केन्द्रीय समितिको बैठकपछि बिहीबार सञ्चारकर्मीसँग पौडेलले ओलीलाई चुनावमा हराइदिने चेतावनी दिए । ‘म पाँचपटक चुनाव जितेको मानिस हुँ’, ओलीको प्रतिवाद गर्दै पौडेलले भने, ‘अरुलाई नपठाई तपाईं आफैं मसँग चुनाव लड्न तनहुँ आउनुस् ।’
एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ताका क्रममा ओलीले तनहुँमा चुनाव हार्ने डरले पौडेलले निर्वाचन घोषणाको विरोध गरेको टिप्पणी गरेका थिए । पौडेलले ओलीको टिप्प्णीप्रति आपत्ति जनाए । पौडेलले ओलीले संसद विघटन गरेलगत्तै उक्त कदम असंवैधानिक भन्दै आपत्ति जनाएका थिए । तनहुँमा पुल उदघाटनमा गएका बेला ओली पक्षीय सांसद कृष्णकुमार श्रेष्ठले आफ्ना मानिस लगाएर पौडेलको कार्यक्रममा अवरोध गर्नुका साथै पक्राउ गराएका थिए ।
त्यसयता ओली र पौडेलबीच दोहोरी चल्दै आएको छ । पौडेलले केही समयअघि आफूहरु लोकतन्त्रका लागि लडेको र आस्थाका लागि जेल गएको भए पनि ओली व्यक्ति हत्याको आरोपमा १४ वर्ष जेल बसेको जिकिर गरेका थिए ।