सभामुखले दिए संसद विघटन नभएको सन्देश

काठमाण्डु टुडे २०७७ पुष ८ गते २२:५९ मा प्रकाशित

काठमाण्डु, ८ पुस– सभामुख अग्नि सापकोटाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमप्रति आपत्ति जनाएका छन् ।

ओलीले संसद विघटन गरेको चार दिनपछि बुधबार विज्ञप्ति जारी गर्दै सापकोटाले संविधानले संसद विघटनको परिकल्पना नगरेको स्पष्ट गरेका हुन् । संविधानको धारा ७६ ले प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म विघटन नहुने स्पष्ट व्यवस्था गरेको स्मरण सापकोटाले गरेका छन् ।

‘यस सन्दर्भमा संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा यस्तो व्यवस्था गरिएको हो’, सापकोटाले भनेका छन्, ‘विगतका विसंगतिपूर्ण अभ्यासलाई सच्याउँदै स्थिरता र यसमार्फत् समृद्धिको जनचाहनालाई सम्बोधन गर्न प्रतिनिधि सभाको पूर्ण कार्यकालको परिकल्पना गरिएको तथ्य यहाँ स्मरणीय छ ।’

सात दशकयता विभिन्न आन्दोलनको जगमा संविधानसभा मार्फत जनताका प्रतिनिधिले बनाएको संविधानको पालना सिंगो मुलुकको कार्यभार रहेको भन्दै सापकोटाले संविधानको रक्षार्थ पुनः एकपटक राजनीतिक दलका बीचमा उच्चस्तरीय समझदारीको आवश्यकता बढेर गएको सापकोटाले बताए ।

सापकोटाले संवैधानिक सर्वोच्चताका लागि माननीय सदस्यहरु, राजनीतिक दल, नागरिक समाज, कानुन व्यवसायी, बुद्धिजीवी, सञ्चारजगत् तथा सम्बद्ध सबै पक्ष संवेदनशील र गम्भीर बन्नुपर्ने बेला आएको सापकोटाको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us