सुदूरपश्चिम, ९ मङ्सिर- नेपाल आयल निगमले सुदूरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन नयाँ डिपो स्थापनाको पहल गरेको छ । निगम प्रादेशिक कार्यालय, धनगढीका प्रमुख चित्तरञ्जन दासले पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने सरकारको नीतिअनुसार सुदूरपश्चिम प्रदेशमा नयाँ डिपो स्थापनाको पहल भएको बताए ।
झण्डै चार दशकअघि धनगढीको चटकपुरमा स्थापित निगमको कार्यालय परिसरमा पेट्रोलिम पदार्थको भण्डारण क्षमता घट्दै गएको छ । सुदूरपश्चिम प्रदेशमा हाल दैनिक ४०० किलोलिटर डिजल र २०० किलोलिटर पेट्रोलको माग रहेको जनाइएको छ । सो मागका आधारमा निगमसँग तीन दिनलाई पुग्ने क्षमताको डिजलको ट्याङ्की र आधा दिनलाई पुग्ने क्षमताको पेट्रोलको ट्याङ्की मात्र छन् । माग बढ्दै जाँदा डिपोमा भण्डारण गरिने पेट्रोलियम पदार्थले धान्न नसक्दा ढुवानी गर्ने ट्याङ्करमा नै पेट्रोलियम पदार्थ भण्डारण गरिराख्नुपर्ने अवस्था छ ।
कार्यालय परिसरमा रहेको भण्डारण डिपो पछिल्ला वर्षमा मानव बस्तीले घेरिन थालेसँगै कुनै पनि समयमा जोखिम निम्तिनसक्ने खतरा पनि छ । डिपो परिसरमा पेट्रोलियम पदार्थ लिएर आउने ट्याङ्कर अड्याउने ठाउँसमेत अभाव हुँदा कार्यालय बाहिर रहेको ‘छ लेन‘ सडकका छेउमा ट्याङ्कर अड्याएर राख्नुपर्ने अवस्था छ ।