राम्रो आम्दानी हुन थालेपछि व्यावसायिक किवीखेतीमा कृषकको आकर्षण बढ्दो

काठमाण्डु टुडे २०७७ कार्तिक १६ गते १५:०२ मा प्रकाशित

भोजपुर – भोजपुर जिल्लाका कृषक व्यावसायिक किवीखेतीतर्फ आकर्षित भएका छन् ।आलु तथा मकैखेतीभन्दा किवीखेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरु किवीखेतीमा लागेका हुन् । एकपटक रोपेपछि वर्षौँसम्म आम्दानी लिन सकिने भएपछि कृषक अन्य बाली हटाएर व्यावसायिक किवीखेतीमा लागेका छन् । भोजपुर नगरपालिका र टेम्केमैयुङ गाउँपालिकाका विभिन्न क्षेत्रमा किवीखेती हुने गरेको छ । केही कृषकले रहरले खेती गरे पनि टेम्केमैयुङ–४ नागीमा भने व्यावसायिकरूपमा नै यसको खेती भइरहेको छ ।

व्यावसायिक रूपमा नागीका सुरज राईको परिवारले २०० भन्दा बढी बिरुवा लगाएर यसको खेती गरिरहेको छ । मकै फल्ने बारी मासेर पाँच वर्ष अघिबाट किवीको व्यावसायिक खेती भइरहेको कृषक राईले बताए । रोपेको दुई वर्षबाट केही उत्पादन दिन थालेकामा यस वर्षबाट भने उत्पादन दोब्बर भएको राईको भनाइ छ । उनले भने, “किवीले हाल आएर राम्रो उत्पादन दिन थालेको छ, मकै आलुबाट खास आम्दानी थिएन । अहिले त्यही बारीबाट राम्रो आम्दानी लिँदै आएको छु ।”

राईले इलामबाट बिरुवा ल्याएर खेती सुरु गरेको जानकारी दिए । किवीको साथमा पाखे अलैँची र खोर्सानीसमेत खेती पनि गर्न सकिने भएकाले दोहोरो फाइदा लिन सकिने राईले बताए । राईको बारीमा पाँच लाखदेखि छ लाखसम्मको किवी फल्ने गरेको उनको भनाइ छ । अन्य परिवारको सदस्यको सहयोगबाट खेती गरिरहनुभएका राईले किवीखेतीबाट वार्षिक रु १० लाखसम्म आम्दानी लिने अपेक्षा रहेको बताए ।

आफ्नो बारीमा उत्पादन भएको किवी केही गाउँमा र केही सदरमुकाममा लगरे बेच्ने गरेको राईले जानकारी दिए । किवी प्रतिकेजी रु २५० देखि रु ३०० मा बजारमा बिक्री गर्दै आएको राईले जानकारी दिए । नजिकै मध्यपहाडी लोकमार्गसमेत बनिरहेको हँुदा उत्पादन भएको किवीले राम्रो बजार पाउनेमा आशावादी रहेको राईको भनाइ छ ।

“मैले खेती गर्न थालेपछि अन्य साथीहरुको पनि यसतर्फ आकर्षण बढेको छ, सडकको पहँुच वृद्धि भइरहेको छ, आगामी दिनमा बजारीकरणमा समेत थप सहजता हुने आशा बढेको छ”, कृषक राईले भने । किवीखेतीको सम्भावना राम्रो देखिएपछि आफूले पनि खेती गर्ने सोच बनाएको राईका छिमेकी सरोज बस्नेतले बताए । “उनले चार वर्षअघि खेती गरेको देख्दा खास फल्छजस्तो लागेको थिएन तर अहिले अति नै राम्रो फलेको देख्दा मैले पनि खेती गर्ने सोच बनाएको छु ।”किवीखेतीका लागि उपयुक्त हावापानी भएको देखिएकाले एक हजार ५०० मिटरभन्दा माथि दुई हजार ४०० मिटरसम्मको उचाइमा खेती गर्न सकिने कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us