उखु किसानको करोडौँ भुक्तानी दिन बाँकी रहेको उद्योग सञ्चालनको तयारीमा

काठमाण्डु टुडे २०७७ कार्तिक ७ गते १६:१३ मा प्रकाशित

सर्लाही, ७ कात्तिक – उखु किसानको करोडौँ भुक्तानी दिन बाँकी रहेको जिल्लाको धन्कौलस्थित अन्नपूर्ण चिनी उद्योग सञ्चालनको तयारीमा रहेको छ ।किसानको सम्पूर्ण बाँकी वक्यौता भुक्तानी गरेर उद्योग सञ्चालन गर्ने तयारीमा रहेको उद्योग प्रशासनले जनाएको छ । सो उद्योगले उखु उत्पादक किसानको करिब रु २४ करोड भुक्तानी गर्न बाँकी रहेको बताइएको छ ।

उद्योग सञ्चालनमा आएदेखिकै किसानसँग उखु खरिद गरेबापत भुक्तानी नगरेको यस उद्योगले गत सिजनमा उद्योग सञ्चालन नै गर्न सकेको थिएन । उद्योगका उखु क्यान म्यानेजर अजित सिंहले यो सिजन शुरु हुनुभन्दा अघि नै किसानको सम्पूर्ण भुक्तानी गरेर उद्योग सञ्चालन गर्ने तयारी छ । हाल उद्योगको मर्मतसम्भारको काम भइरहेको उनको भनाइ छ ।

गत सिजनमा उद्योग सञ्चालन हुन नसकेका कारण उद्योगका मेसिन मर्मतको काम भइरहेको उद्योगले जनाएको छ । आउँदो नोभेम्बरबाट सञ्चालन गर्न सकिने गरी मर्मतसम्भारको काम भइरहेको उद्योगका महाप्रवन्धक ९जिएम० टेक्निसियन राजेन्द्र चौधरीले बताए । “उद्योग कहिलेबाट सञ्चालन हुन्छ, हामीलाई थाहा छैन”, उनले भने, “तर, सञ्चालन गर्न नोभेम्बरबाट सकिने गरी प्राविधिक पक्ष तयार गर्दैछौँ ।”

उद्योगको स्टोरमा पाँच हजार क्विन्टल चिनी र १४ हजार क्विन्टल मोलासिस मौज्दात रहेको बताउँदै स्टोर म्यानेजर एचपी शुक्लाले उद्योगको केन्द्रीय कार्यालयले अहिले पनि थोरै थोरै गरेर किसानको भुक्तानी गरिरहेको छ भने । “सबै काम काठमाडौंस्थित केन्द्रीय कार्यालयबाट भइरहेको छ”, उनले भने, “हामीलाई भुक्तानी र स्टोरको सामान बिक्री–वितरणबारे कुनै जानकारी छैन ।”

यता उद्योगका मजदूरले काम गरेको तलबबापतको भुक्तानी नपाएको गुनासो गरेका छन् । सोही उद्योगमा लामो समय काम गरेका राम एकवालले उद्योग बन्द रहेका कारण ज्याला नपाउँदा हातमुख जोर्न समस्या भएको बताए। यता उद्योगमा आएको विभिन्न समस्यका कारण किसानसँगै उद्योगका मजदूरको भुक्तानीमा पनि ढिलाइ भएको उद्योग प्रशासनले जनाएको छ ।

गत वर्ष उद्योग नै सञ्चालन हुन नसकेको र किसानको समेत धेरै भुक्तानी गर्न बाँकी भएका कारण मजदूरले पैसा पाउन ढिला भएको उद्योगका क्यान म्यानेजर सिंहको भनाइ छ । उनले मजदूरको भुक्तानी चाँडै हुने बताए । उद्योगमा ९२ जना मजदूर कार्यरत छन् । उनीहरूको विभिन्न समयको गरी उद्योगले हालसम्म लगभग १८ लाख तलब भुक्तानी बाँकी राखेको उद्योगका क्यान म्यानेजर सिंहको भनाइ छ ।

यता किसानले उद्योगले पहिलाको भुक्तानी नगरेसम्म उखु नदिने र उद्योग पनि सञ्चालन गर्न नदिने बताएका छन् । तीन सिजन पहिला उद्योगलाई दिएको उखुको अहिलेसम्म भुक्तानी नपाएको उनीहरू उद्योगप्रति आक्रोशित छन् ।

अनुदानको खेल :
अघिल्लो सिजनमा सञ्चालनमा आउन नसकेको उद्योग एक्कासी सञ्चालनको तयारी गर्नुले किसानको भुक्तानी दिने र उखु क्रसिङ गर्नेभन्दा पनि राज्यले रुग्ण उद्योगका लागि दिने भनेको अनुदानको खेल हुन सक्ने नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनी मैनालीको आरोप छ ।

यत्रो समय किसानले सङ्घर्ष गर्दा भुक्तानी गर्न तयार नहुने उद्योगपतिले एक्कासी करोडौँ भुक्तानी गर्ने कुरामा विश्वास गर्न नसकिने उनको भनाइ छ । “यो राज्य र उद्योगपति मिलेर एक–अर्कालाई पोस्ने खेल हुन सक्छ”, उनले भने, “होइन भने त्यहाँका किसानको अनेक बहानामा रोकेको उखुको भुक्तानी दिने हो भने खोइ त तयारी रु” अध्यक्ष मैनालीले उद्योगले अझै किसानको रु २४ करोडको हाराहारीमा भुक्तानी गर्न बाँकी रहेको बताए । उद्योगले किसानको भुक्तानीलगायतको काम केन्द्रीय कार्यालय काठमाण्डुबाट भइरहेको बताइरहे पनि केन्द्रीय कार्यालयमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

जिल्लामा अन्नपूर्णसहित तीनवटा चिनी उद्योग छन् । तीमध्ये गत सिजनमा हरिवन– ११ स्थित इन्दुशङ्कर चिनी उद्योग र महालक्ष्मी चिनी उद्योग बगदह मात्र सञ्चालनमा आएका थिए । देशभरिमै सर्लाही सबैभन्दा धेरै उखु उत्पादन हुने जिल्ला हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us