बागलुङ, कार्तिक ४ – हिमालपारिको जिल्ला मुस्ताङबाट कम मात्रामा च्याङ्ग्रा निर्यात भएपछि भाउ आकाशिएको छ । चीनबाट च्याङ्ग्रा मुस्ताङ नआएपछि अहिले मुस्ताङबाट जम्मा १० हजार च्याङ्ग्रा बिक्रीका लागि बाहिरिएका छन् ।
मूल्य बढी पर्ने भएकाले गत वर्षको तुलनामा च्याङ्ग्राको व्यापार घट्दै गएको बागलुङबाट मुस्ताङ गएर पाँच वर्षदेखि च्याङ्ग्रा ल्याउँदै आएका अम्मरबहादुर क्षेत्रीले जानकारी दिए। “यसपालि च्याङ्ग्रा कम छन्, गत वर्ष १०० भन्दा बढी च्याङ्ग्रा ल्याउँथे, यसपालि मुस्ताङमै महङ्गो मूल्य तिरेर जम्मा ७५ च्याङ्ग्रा ल्याएको छु”, उनले भने, “भाउ सुन्दै ग्राहक डराउन थालेपछि चार दिनमा बल्ल १२ वटा च्याङ्ग्रा बेच्न सफल भएँ, यिनै च्याङ्ग्रा बेच्न पनि मुस्किल होलाजस्तो भयो ।” उपभोक्ताले च्याङ्ग्राको विकल्पमा स्थानीय भेडा, खसी तथा बोका खोज्न थालेका छन् । एउटा च्याङ्ग्रा खरिद गर्ने रकमले दुई-तीनवटा खसी आउने भएपछि यसको विकल्प खोज्न थालेका हुन् ।
एघार दिनको पैदलयात्राबाट बागलुङमा च्याङ्ग्रा भित्र्याएका क्षेत्रीसहित बागलुङ तित्याङका लक्ष्मण खड्काले ७५ र म्याग्दीका पुरन सुवेदीले १५० च्याङ्ग्रा ल्याएका छन् । च्याङ्ग्रा व्यापारी लक्ष्मण खड्काले पोहोरको तुलनामा एउटा च्याङ्ग्राको भाउ झण्डै रु छ हजारले बढेको हुँदा यसपालि च्याङ्ग्राको व्यापार घटेको बताए । अहिले बागलुङ बजारमा एउटा च्याङ्ग्राको मूल्य ३५ हजार रुपैयाँ भन्दा माथि छ । प्रतिकिलो च्याङ्ग्राको मासुको मूल्य एक हजार आठ सय रुपैयाँ पर्ने गरेको अर्का च्याङ्ग्रा व्यापारी पुरन सुवेदीको भनाई छ ।
च्याङ्ग्रा कम आयात भएका कारण मूल्य बढेपछि च्याङ्ग्रा बिक्री गर्न धौधौ भएको च्याङ्ग्रा व्यापारी क्षेत्रीले बताए । किसानको गोठबाटै च्याङ्ग्रा ल्याएर बिक्री गर्दासमेत पहिलाको जस्तो कमाइ हुन नसकेको व्यापारीको गुनासो छ । “कोही बिरामी परेर मर्छन्, कोही हराउने सम्भावना पनि हुन्छ”, व्यापारी लक्ष्मण खड्काले भन्नुभयो, “हिँडाइ र चराइ नमिल्दा च्याङ्ग्राको तौलसमेत घट्दै जाने भएकाले अहिले व्यापारसँगै नाफासमेत घटेको छ ।”
यो वर्ष बागलुङमा जम्मा एक हजार च्याङ्ग्रा भित्रिएको अनुमान छ । हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केकोे च्याङ्ग्रा चाडपर्वमा खाने चलन छ । स्वादिष्ट र स्वस्थकर मासुका लागि यो दशैँमा ३५ हजार रुपैयाँमा च्याङ्ग्रा खरिद गरेको बागलुङ बजारका उपभोक्ता यामबहादुर क्षेत्रीले बताए ।




