लकडाउनमा समेत कति धेरै आयात ?

काठमाण्डु टुडे २०७७ वैशाख २६ गते ८:३७ मा प्रकाशित

काठमाण्डु, २६ वैशाख– नेपालमा बन्दाबन्दी (लकडाउन) को अवधिमा मात्र विभिन्न मुलुकबाट ४० अर्ब रुपैयाँभन्दा बढीको अति आवश्यकीय वस्तु भित्र्याइएको छ ।

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार लकडाउन अवधि गत चैत ११ गतेदेखि वैशाख २१ गतेसम्म ४० अर्ब २४ करोड ३२ लाख ९२ हजार रुपैयाँ बराबरको अत्यावश्यकीय वस्तु नेपाल भित्रिएको हो ।

मन्त्रालयका अनुसार नेपालमा लकडाउनमा अति आवश्यकीय वस्तु भारतबाट मात्र नभएर चीनबाट समेत भित्र्याएको छ ।

यस अवधिमा नेपाल भित्रिएको अत्यावश्यकीय वस्तुमध्ये चीनको तातोपानी नाकाबाट चार करोड ६२ लाख ४७ हजार रुपैयाँ बराबरका र अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ करोड ४४ लाख ३९ हजार रुपैयाँ बराबरको औषधिको कच्चा पदार्थ र तयारी औषधि भित्रिएको छ ।

बाँकी सबै भारतबाट भित्रिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यस अवधिमा खाद्यान्न, दलहन, गेडागुडी, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, औषधिको कच्चा पदार्थ, तयारी औषधि, एलपी ग्यास, पेट्रोल, डिजेललगायतका सामान भित्रिएका छन् । गोरखापत्र दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us