भारतबाट फर्किएका वृद्धको क्वारेन्टाइनमा जाँदाजाँदै मृत्यु, कोरोना परीक्षणको रिपोर्ट आउन बाँकी

रासस २०७७ वैशाख २१ गते २२:२९ मा प्रकाशित

बैतडी, २१ वैशाख–  क्वारेन्टाइनमा लैजाँदै गर्दा मृत्यु भएका बैतडीका एक जनाको थ्रोट स्वाब सङ्कलन गरी आज परीक्षणका लागि पठाइएको छ ।

पुर्चौडी नगरपालिका–६ मनकालीका ६७ वर्षीय जुने लुहारको स्वाब सङ्कलन गरी परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको हो ।

रिपोर्टपछि मात्रै जुनेमा कोरोना भए/नभएको थाहा हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।

रिपोर्ट एक/दुई दिनभित्रै आउने उनले बताए । भारतीय सीमानाका झुलाघाटबाट उद्धार गरेर ल्याइएका जुनेको शनिबार मृत्यु भएको थियो ।  लुहार यही वैशाख १८ गते भारतको पिथौरागढबाट झुलाघाट नाका हुँदै नेपाल आएका थिए ।

एक महिनाअघि उपचारका लागि भारतको पिथौरागढ पुगेका लुहार लकडाउनका कारण पिथौरागढमै बसेका थिए ।

उनको शनिबार पुर्चौडी नगरपालिका–६ को क्वारेन्टाइनमा लैजाँदै गर्दा खडायत गाउँ नजिकै बाटोमा हिँड्दाहिँड्दै मृत्यु भएको थियो ।

जुने लामो समयदेखि दमका बिरामी रहेको बुझिएको छ ।  मृतकको शवलाई प्लाष्टिक बेरेर सुरक्षात्मक तरिकाले दाहसंस्कार गरिसकिएको पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले जानकारी दिए ।

लुहारसँग आएकाहरुलाई छुट्टै क्वारेन्टाइनमा राखिएको छ। यही वैशाख १८ गते झुलाघाट र धार्चुला नाकाबाट दुई हजार ६९५ नेपाली स्वदेश फर्किएका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us