शनिबारको सचिवालय बैठकमा प्रचण्ड–नेपालको एजेण्डाः ओलीको प्रधानमन्त्रीबाट राजीनामा

काठमाण्डु टुडे २०७७ वैशाख १९ गते १८:५५ मा प्रकाशित

काठमाण्डु, १९ वैशाख– सत्तारुढ नेकपाको शनिबार बस्ने सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री केपी ओलीको राजीनामालाई मुख्य विषय बनाउने भएको छ ।

सो समूहका नेताहरुले अध्यक्षसमेत रहेका ओलीले बिहीबारको सचिवालय बैठकमा नेता नेपाललाई तेश्रो अध्यक्ष र उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए । प्रचण्ड–नेपाल समूहले सत्ता लम्ब्याउने चालबाजीको संज्ञा दिँदै आएको प्रस्ताव खारेज गरेको छ । स्रोतका अनुसार प्रचण्ड र नेता नेपालले गौतमलाई पनि ओलीको ‘ललिपप’मा नझुक्किन भनेको छ ।

‘ओली आफ्नो गलत कार्यशैलीका कारण उत्पन्न समस्या समाधान गर्न तयार छैनन’, प्रचण्डनिकट एक स्थायी समिति सदस्यले काठमाण्डुटुडेसँग भने, ‘ओलीको सत्ता टिकाउने जालसाँजीलाई विश्वास नगर्ने र प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने विषय भोलिको सचिवालय बैठकमा जोडदार रुपमा राख्ने टुंगो भएको छ ।’

बिहीबारको बैठकमा प्रचण्डले ओलीले पार्टी र सरकारले नेतृत्व गर्न नसक्ने भन्दै प्रधानमन्त्रीबाट राजीनामा नै अहिलेको एक मात्र निकास भएको धारणा राखेका थिए ।’ ओलीको गलत र निरंकुश कार्यशैलीका कारण सरकार र पार्टीको जनतामा बदनामी भएको निस्कर्ष प्रचण्ड–नेपाल समूहको छ ।

ती नेताले कि राजीनामा वा वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव समय तालिकासहित ल्याउन माग गर्ने सहमति भएको बताए । शुक्रबार नेता नेपाल निवास कोटेश्वरमा भएको दुई नेताबीचको छलफलले राजीनामा वा वामदेवलाई प्रधानन्त्री छाड्ने भए कार्यकालिका सहित प्रस्तुत हुन ओलीलाई दबाब दिने रणनीति बनाएको छ ।

पार्टीलाई बाइपास गरेर काम गर्ने शैलीका कारण उत्पन्न समस्याको समाधान ओली सच्चिए मात्र हुने भए पनि उनले पदीय भागबण्डासँग जोडेको भन्दै ओलीइतर समूह थप क्रुद्ध बनेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us