लकडाउन खुले पनि तत्काल स्कुल क्याम्पस खुल्दैनः सरकार

काठमाण्डु टुडे २०७७ वैशाख १३ गते २१:१३ मा प्रकाशित

काठमाण्डु, १३ वैशाख– सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउन खुले पनि तत्काल शैक्षिक संस्था नखुल्ने स्पष्ट गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शनिबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा लकडाउन खुलेलगत्तै शिक्षण संस्था पूर्ववत अवस्थामा सञ्चालन गर्न नसकिने बताए ।

अरु सबै खुलिसकेपछि मात्र शिक्षण संस्था खोल्ने योजना रहेको उनको भनाइ थियो । ‘लकडाउन खुले पनि तत्काल शिक्षण संस्था सञ्चालन हुने अवस्था छैन’, ‘मन्त्री पोखरेलले भने, ‘एउटै कोठामा धेरै विद्यार्थी रहनुपर्ने भएकाले सामाजिक दूरी कायम गर्न सम्भव छैन ।’

यस्तै देशका २ सय ५० बढी विद्यालय तथा क्याम्पसलाई क्वारेन्टाइन बनाइएकाले पनि तत्काल कक्षा सञ्चालन सम्भव नहुने मन्त्री पोखरेलको भनाइ थियो ।

पोखरेलले जेठभित्र कक्षा सञ्चालन गर्न सकिए नयाँ शैक्षिक सत्रलाई असर नपर्ने दाबी गरे । जाडो, गर्मी र चाडपर्व बिदा कटाएर भए पनि शैक्षिक शत्र प्रभावित हुन नदिने उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us