विश्वकप फुटबलको छनोट खेल स्थगित गर्ने फिफाको प्रस्ताव

काठमाण्डु टुडे २०७६ फागुन २३ गते १६:०१ मा प्रकाशित

काठमाण्डु,२३फागुन–विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप फुटबलको छनोट खेलहरु स्थगित गर्ने प्रस्ताव गरेको छ ।

उसले स्थगित गर्ने औपचारिक प्रस्ताव सदस्य राष्ट्रहरु समक्ष पठाएको छ । एशियामा फुटबल गतिविधिबारे छलफल गर्न फिफा मुख्यालयमा फिफा र एशियाली फुटबल संघका पदाधिकारीहरुबीच दुई दिनसम्म चलेको बैठकले उक्त निर्णय गरेको हो । फिफाले जारी गरेको वक्तब्यमा भनिएको छ, ‘फिफा विश्वकप २०२२ र एएफसी एशिया कप २०२३ को छनोट खेलहरु स्थगित गर्ने औपचारिक प्रस्ताव सदस्य राष्ट्रहरुलाई पठाइनेछ ‘।

कोरोना भाइरसको संक्रमणपछि एशियाली राष्ट्रमा छनोट खेलहरु निर्धारित समयमै गर्नेरनगर्ने सम्बन्धमा छलफल केन्द्रित रहेको थियो । फिफा र एएफसीले छिट्टै नै सदस्य राष्ट्रहरुसँग छलफल गरेर तालिकाबारे निर्णय गर्ने उसको वक्तब्यमा उल्लेख गरिएको छ । फिफाले विश्व स्वास्थ्य संगठनसँग खेलसँग सम्बन्धित स्वास्थ्य चासोबारे समन्वय गरिरहेको जनाएको छ ।

फिफा विश्वकप छनोट तथा एशिया कप छनोटको छैठौं र सातौं चरणमा नेपालले घरेलु मैदानमा चाइनिज ताइपेइसँग चैत १३ गते र अष्ट्रेलियासँग चैत १८ गते घरेलु मैदानमा खेल्ने तालिका रहेको छ । विश्वकप छनोटको आठ खेलमध्ये पाँच खेल विदेशी भूमीमा खेलेको नेपालले बाँकीको तीन खेल घरेलु मैदानमा खेल्नेछन् ।
छनोट खेलमध्ये नेपालले चारमा हार बेहोरेको छ भने चाइनिज ताइपेइसँग मात्रै जित हात पारेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us