नुवाकोटको सिसडोल भन्ने बित्तिकै मानिसहरुले फोहोर फाल्ने ठाउँका रुपमा चिन्छन् । यसअघि कहिल्यै चर्चामा नरहेको सिसडोल केही वर्षयता राष्ट्रिय चर्चामा छ । कारण, काठमाण्डु उपत्यकामा जम्मा हुने फोहोर फाल्ने ठाउँ सिसडोल हो । तत्कालीन सरकारले सिसडोल नजिकै बञ्चरे डाँडामा फोहोर फाल्ने स्यानेटरी ल्याण्डफिल साइड बनाउने र त्यसका लागि संरचना बनाउन लाग्ने दुई वर्षका लागि अस्थायी रुपमा त्यहाँ फोहोर फाल्न सुरु गरेको थियो । फोहोर फाल्न दिएबापत स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार लगायतमा लगानी गर्ने बाचा राज्यका तर्फबाट गरिएको थियो । तर, १४ वर्षसम्म सरकारले त्यसका लागि केही काम गरेन । मात्र फोहोर फाल्ने मात्र काम गरियो ।
बञ्चरे डाँडामा बनाउने भनिएको ल्याण्डिफिल्ड साइड अझै बनेको छैन । फोहोरका कारण नुवाकोटको ओखरपौवा, चाउथे, कुमरी, ककनी, दुईपिपल र धादिङका छत्रे देउराली, जिवनपुर, केवलपुरसहितका क्षेत्रका मानिसको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ । खेतीपाती करिब ठप्पै छ । पशुचौपाया मर्ने क्रम वर्षेनि बढेको छ । एक प्रकारले भन्ने हो भने मानिस बस्ने अवस्था नै त्यहाँ छैन । यही समस्या प्रभावित क्षेत्रमा मानिसहरुले पटकपटक उठाउँदै आएका छन् । राज्यका तर्फबाट समस्या समाधाका लागि पहल गर्ने लिखित र अलिखित सम्झौता/सहमति पनि भएका छन् । तर, ती कार्यान्वयन भएका छैनन् । पछिल्लोपटक सिसडोलको फोहोरबाट प्रभावितलाई क्षतिपूर्ति नभएसम्म बञ्चरेमा ल्याण्डफिल साइड बनाउन नदिने चेतावनी प्रभावित क्षेत्रका बासिन्दाको हो । स्थानीयहरुको समस्याको अगुवाई गर्दै आएका नवराज ढुंगाना ‘विश्वास’ सँग काठमाण्डुटुडेले फोहोर व्यवस्थापनबारे कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँगको कुराकानीको सम्पादित अंशः–
यसअघि पटकपटक स्थानीयको नाममा ओखरपौवा सिसडोल ल्याण्डफिल साइटमा फोहोरो फाल्न रोक्ने गरिएको थियो । यसपटक बञ्चरे डाँडामा बन्दै गरेको स्यानेटरी ल्याण्डफिल्ड साइटको काम रोक्ने भन्दै हिंड्नुभएको छ, किन ?
सिसडोलमा राज्यले १४ वर्षसम्म मानिस र फोहोरलाई एकै ठाउँमा राख्दै आएको छ । यो रोग बञ्चरे डाँडामा नसरोस् भन्ने हाम्रो मुख्य सरोकार र चिन्ता हो । सिसडोलमा जसरी अव्यवस्थित र भद्रगोल तवरले फोहोर फाल्ने गरिएको छ त्योभन्दा फरक बञ्चरे डाँडामा हुने देखिएन । त्यसका लागि कुनै तयारी छैन । हामीले भनेको यत्ति मात्र हो कि, फोहोर फाल्दा वरिपरिका बस्तीका मानिसको स्वास्थ्य, उनीहरुका बस्तुभाउ र खेतीपातीका बारेमा राज्यले सोच्नुपर्छ ।
मुआब्जाको विवाद के हो ?
२०६२ सालमा २ वर्षका लागि भनेर अस्थायी रुपमा फोहोर थुपार्न थालियो । अहिलेसम्म स्थानीयको खेतीयोग्य जमिनमा जबर्जस्ती फोहोर राखिँदै आएको छ । जुन जमिनबाट अन्न उत्पादन गरेर १० औं जनाको परिवार पाल्नुपर्ने अवस्थाका किसानहरु भोकभोकै बस्नुपर्ने अवस्था छ । जमिन भएर पनि राज्यले सुकुम्बासी बनाएको छ । कि त राज्यले त्यो जमिन खरिद गर्नुपर्छ कि मुआब्जा दिनुपर्छ । फोहोर फालिएको वरिपरिका कतिपय जग्गामा दुर्गन्धका कारण मानिस गएर कामै गर्न सक्दैनन् । बाली लगाए पनि विभिन्न रोगका कारण बाली नफस्टने र अन्न नलाग्ने समस्या छ । राज्यले यसरी अनाहकमा नागरिकलाई दुःख दिन मिल्छ ? हामीले भनेको अहिले फोहोर फालिँदै आएको सिसडोलमा कसकसका जमिन थिए, उनीहरुलाई उचित मूल्यमा मुआब्जा दिनुपर्छ । के यो कुरा गलत हो ?
त्यसपछि अब फाल्ने तयारी गरिएको बञ्चरे डाँडामा फोहोरका कारण आसपासका जमिनमा सिसडोलकै जस्तो खेती गर्न नसकिने, खेती गरे पनि उत्पादन नहुने अवस्था आउँछ त्यसलाई अहिल्यै समाधान गर्नुपर्छ भनेर राज्यलाई सहयोग पुग्ने उद्देश्यले यो विषयको उठान गरेका हौं ।
तर, तपाईंहरुमाथि विभिन्न बखेडा झिकेर ‘फोहोर लाई मोहर’ बनाउने खेती गरिरहेको आरोप लाग्दै आएको छ नि ? फोहोर बन्द गरेर पैसाको बार्गेनिङ गर्नुहुन्छ रे ?
यो सरासर गलत आरोप हो । काठमाण्डुका ४० लाख मानिसहरुका कारण जम्मा भएको फोहोर ब्यहोरेर १० औं वर्षसम्म रोगी भएर, खेतीपाती ध्वस्त भएर, घरमा बस्न नसकेर उठिबास लागेका ओखरपौवाबासीमाथि लागेको यो अमानवीय र आपराधिक आरोप हो । फोहोर व्यवस्थापन गर्ने कामको जिम्मेवारी पाएका निकायहरुको लाचारी ढाकछोप गर्न पीडितहरुमाथि उल्टै यस्तो आरोप लगाउने काम बेलाबेला हुने गरेको छ । त्यसो हो भने कसले कुन मितिमा कसरी कहाँबाट कति पैसा लगेको छ, आरोप लगाउनेहरुसँग त्यसको तथ्य सार्वजनिक गर्ने हिम्मत छ ? कसले मागेको छ पैसा ? हामीले त यत्ति मात्र भनेका हौं कि हाम्रा पितापुर्खादेखि बसोबास गर्दै आएको ठाउँमा स्वस्थ भएर बाँच्न पाऔं ।
के काठमाण्डुमा मानिसहरुलाई मात्र गन्हाउँछ फोहोर ? हामीलाई गन्हाउँदैन ? हामी मान्छे होइनौं ? काठमाण्डुको एउटा घरमा एक दिन फोहोर उठेन भने ठूलै भूइँचालो जान्छ । सरकारको कुर्सी हल्लिन्छ । अनि हाम्रो आँगनमा चाहिं १४ वर्षसम्म फोहोरको पहाड जम्मा हुँदा हामीलाई चाहिं असर गर्दैन ? अनि हामीले यसरी हाम्रो बाँच्न पाउने हकका लागि पैरवी गर्दा पैसा मागेको आरोप लगाउँने ? हामीले फोहोर व्यवस्थापन राम्रोसँग गर्नुप¥यो भनेका हौं । कुनै पनि मुलुकमा एक ठाउँका मानिसले गरेको फोहोर उठाएर जस्ताको तस्तै अर्को बस्तीमा लगेर पहाड बनाएको उदाहरण थापा तपाईंसँग छ ? यो हाम्रोमा मात्र भइरहेको छ । हामीले त दाह्रा किटेर धेरै पीडाहरु सहेका छौं ।
कस्ता–कस्ता समस्या भोग्नुपरेको छ त्यहाँका मानिसहरुले ?
बेलाबेला सञ्चार माध्यममा पनि आउँने गरेको छ । फोहोरको असरबाट धेरै गर्भवति महिलाहरुको गर्भ पतन हुने गरेको छ । वर्षेनि झाडा पखाला र हैजाको महामारीबाट काठमाण्डुका अस्पताल भरिने गरेको कुरा त सञ्चार माध्यममा आएकै छ । क्यान्सरजस्तो गम्भीर रोगबाट समेत मानिसहरु प्रताडीत भइरहेका छन् । उनीहरुको उपचारमा एक पैसाको सहयोग राज्यका तर्फबाट भएको छैन । कम्तिमा फोहोर फाल्ने गरिएको ठाउँदेखि दुई किलोमिटर आसपासका क्षेत्रमा दुर्गन्धका कारण कोही पनि किसानले एक घण्टासम्म लगातार खेतीपातीको काम गर्न सक्दैन । काम गर्दागर्दै वाकवाकी लाग्ने, बान्ता हुने समस्या छ । धेरै किसानमा त्यसको कारणले टाउको देख्ने समस्या देखिएको छ ।
झिँगा माहुरीको गोलो झैं आउँछ । कसैले पनि घरमा आनन्दले खाना खान नपाएको कयौं वर्ष भयो । खाना पकाउँदै पकाउँदै र खाँदाखाँदै झिँगा बसेर कतिपय अवस्थामा भोकै बस्नुपर्छ हामीले । लमखुट्टेको त फर्म नै जस्तो छ । चिल/गिद्धले सिनोहरु घरका वरिपरि लगेर फाल्ने गरेका छन् । त्यसबाट मानिस र पशुपंक्षीमा रोग फैलने गरेको छ । वर्षेनी हजारौंको संख्यामा गाईं, भैंसी, बाख्रा, कुखुरा मरेका छन् । यसको कुनै लेखाजोखा हुनुपर्दैन ? सिनो खानका लागि जंगली जनावर आउँछन् । सिंगो बस्ती नै आतंकमय छ ।
सिनो भन्नुभयो, फोहोरमा कसरी आउँछ र सिनो ?
काठमाण्डुका अस्पतालमा मरेमा बेवारिसे शवहरु फोहोरसँगै जाने गरेका छन् । कहिले मानिसको हातखुट्टा, कहिले टाउको भेटिने गरेको छ । यस्तो गर्न पाइन्छ ? काठमाण्डु महानगरपालिका, निजी अस्पताल, निजी फोहोर संकलक र प्रहरीको समेत मिलेमतोमा लास फाल्ने गरिएको छ । अस्पतालजन्य फोहोरमा जहिले पनि कुनै न कुनै मानिसको अंग फेला पर्ने गरेको छ । फोहोरमा करिब २ सयको संख्यामा कबाडी सामान संकलन गर्नेहरु छन् । उनीहरुको हातमा कयौंपटक मानिसका अंग आएको हुन्छ । सवारी दुर्घटना र अन्य कारणले मारेका र मारिएका गाई÷गोरु र कुकुर लगेर फाल्ने ठाउँ त्यही हो । फोहोर फाल्ने कि मानिसको लास र मृत जनावर लगेर फाल्ने ?
प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सभापतिसहतिको टोलीले सिसडोलको स्थलगत निरीक्षण गरेको थियो, के भन्नुभयो उहाँहरुले ?
उहाँहरुको कार्यक्षेत्रभित्र विकास निर्माणको काम हेर्ने मात्र पर्दोरहेछ । फोहोर व्यवस्थापन नपर्नेरहेछ । हामीले सिसडोलको जस्तै तरिकाले फोहोर व्यवस्थापन गर्ने हो भने बञ्चरेडाँडामा संरचना बनाउन दिँदैनौं भनेपछि उहाँहरु अवस्था बुझ्न जानुभएको हो । त्यहाँ गएपछि उहाँहरु आफैं चकित पर्नुभयो । समितिकी सभापति कल्याणीकुमारी खड्का र टोलीका अरु सबैले हामीलाई तपाईंहरु यस्तोमा कसरी बस्न सक्नुभएको ? भन्ने प्रश्न गर्नुभयो ।
हामीले फोहोर र मानिस एकै ठाउँमा नराखिदिनूस्, फोहोरको व्यवस्थापन गर्नूस् भनेपछि मेरो कार्यक्षेत्र नभए पनि राज्यलाई मेरो ठाउँबाट फोहोर व्यवस्थापन गर्न र मानव स्वास्थ्य तथा भौतिक सम्पत्तिका बारेमा राज्यले गर्नुपर्ने न्यूनतम कामका लागि सम्वद्ध पक्षलाई निर्देशन दिने आश्वासन दिनुभयो । काठमाण्डु फर्केपछि उहाँहरुले समितिको बैठकमा सहरी विकासमन्त्री, सचिव, काठमाण्डु महानगरपालिकाका मेयर, काठमाण्डु उपत्यकाभित्रका सांसद, प्रभावित क्षेत्र नुवाकोट र गाउँपालिका तथा नगरपालिकाका प्रमुख÷उपप्रमुख र हामी सरोकारवालाहरुलाई बोलाएर सामूहिक छलफल गराउनुभयो । छलफलमा सरकार र महानगरका प्रतिनिधिबाट यतिसम्म निरीहता प्रस्तुत गरियो कि फोहोर व्यवस्थापन अहिलेसम्म राज्यको कुन निकायले गर्ने भन्नेमै उहाँहरुमा अन्यौलता देखियो । फोहोर व्यवस्थापनको जिम्मा दिनका लागि सरकारले ४ वर्षअघि लगानी बोर्डलाई जिम्मा दिएको रहेछ । लगानी बोर्ड जसले फोहोर व्यवस्थापन गर्ने जिम्मा लिएको छ, उसका अधिकारीहरु नै निजी क्षेत्रको फोहोर व्यवस्थापक ‘नेपोस्ट प्रा.लि.’ को पछिपछि लागेको रहेछ ।
यो सबै अवस्था बुझेपछि समितिका सभापतिले जिम्मेवारी ओगटेर मात्र नबस्न र कस/कसको जिम्मा हो सक्ने भए जिम्मा पूरा गर्न र नसक्ने भए हात उठाउन निर्देशन दिनुभयो । समिति सभापतिका कुरा सुनेर हामी धेरै खुसी भएका छौं । उहाँले मानिस र फोहोर एकैठाउँ बस्नुनपर्ने अवस्था ल्याउन पहल गर्छु भन्ने आश्वासन दिनुभएको छ ।
फोहोर व्यवस्थापनको जिम्मेवारी सरकारको मात्र नभएर नागरिकको पनि हो, नागरिकका रुपमा यो समस्या समाधान गर्न तपाईंहरुको पनि त भूमिका हुनुपर्ने हो नि ?
नागरिकको भूमिका सम्झेर नै त हामी १४ वर्षसम्म फाहोरसँगै बस्यौं । काठमाण्डु सफा गर्नुपर्छ भन्ने नाममा हामी फोहारी नै भएर बसेका हौं । व्यवस्थापन राम्रो बनाउन हामीले धेरै सहयोग पनि गरेका हौं । तर, राज्य पक्षले फोहोर व्यवस्थापन अरु मुलुकमा कसरी भइरहेको छ त्यसरी नै गरिदिएको भए यो समस्या आउने थिएन । नेताहरु, मन्त्री, सांसद, उच्च ओहोदामा बसेका सरकारी कर्मचारी सबै देशविदेश डुलेको देखिन्छ । तर, उहाँहरु विदेश घुमेर सिकेको के ? त्यहाँको सहर सफा देख्दा उहाँहरुलाई हाम्रो सहर पनि यस्तै बनाउन पाए हुन्थ्यो भन्ने विचार किन आउँदैन ? त्यहाँ त कतै पनि फोहोरको पहाड देख्नुभएको छैन होला । विदेश घुम्न जाने भनेको रिल्याक्स गर्न, जहाज चढ्न, रेल चढ्न मात्र हो र ? त्यहाँ भइरहेका विकास हेरेर हाम्रोमा त्यस्तै काम गर्नुपर्ने होइन ? किन यो भइरहेको छैन ? हामीले मागेको केही छैन । हाम्रो खेती गर्ने जग्गामा यतिका वर्षसम्म फोहोर फालिएको छ, त्यसको क्षतिपूर्ति चाहियो ।
फोहोर फाल्दा व्यवस्थित रुपमा फाल्नुप¥यो, जसका कारण त्यहाँका मानिसको स्वास्थ्य जीवन बााच्न पाउने हक सुरक्षित होओस् । अरु भनेको विगतमा सरकारले फोहोर प्रभावित क्षेत्रमा बासिन्दाको स्वास्थ्य, शिक्षा, रोजगारी, सडक, खानेपानीजस्ता पूर्वाधार विकासका लागि लगानी गर्ने भनेर पटकपटक लिखित सम्झौता गरेको छ, त्यो कार्यान्यवन होस् । हामीले भनेको यत्ति हो । यसरी नै भद्रगोल तरिकाले फोहोर फालिरहनुपर्ने र फोहोर फाल्ने ठाउँका रुपमा सरकारले हाम्रै बस्तीलाई मात्र देखेको हो भने हामीलाई त्यहाँबाट अन्यत्रै पुनर्बास गरियोस् । फोहोर व्यवस्थापनका नाममा काठमाण्डु महानगरपालिकाले वार्षिक ३० करोड रुपैयाँ खर्च गरिरहेको छ ? काठमाण्डुको फोहोर ट्रकमा उठाएर लगेर सिसडोलमा फोहोरको पहाड खर्च गर्न मात्र ३० करोड चर्ख गर्ने हो ? हाम्रो प्रश्न यही हो ।