
बाँके, २ असोज – लगातार आएको पानीले बाँकेको खजुरा गाउँपालिका, जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिका बाढीले बढी प्रभावित भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार, खजुरा गाउँपालिकामा मानखोला र जेठी नालामा आएको बाढीका कारण दशविगाह, आठ विगाह र सिन्दुरे गाउँ डुबानमा परेका छन् । ६४ घरपरिवारका २५३ जना जनसेवा माविमा आश्रय लिएर बसिरहेका छन् । यसैगरी जानकी गाउँपालिकाको शिवपुरी र साइगाउँ क्षेत्रमा पनि बाढीको पानी घरभित्र पस्दा चार परिवार विस्थापित भएका छन् । अन्य घरहरुमा समेत पानी पसेको छ । नेपालगञ्ज उप–महानगरपालिकाका दर्जनौं घरहरुमा पानी पसेको स्थानीयले जनाएका छन् ।
सीमामा भारतले निर्माण गरेको बाँधका कारण सीमा क्षेत्रमा नेपाली गाउँहरु डुबानमा परेका हुन् । बाढीका कारण नेपालगञ्ज–गुलरिया सडकखण्ड बुधबारदेखि नै प्रभावित भएको छ ।वर्षाका कारण नेपालगञ्ज विमानस्थलबाट पहाडी तथा हिमाली जिल्लामा हुने उडान प्रभावित भएका छन् । जिल्ला प्रशासन कार्यालय, रेडक्रसहरुले विस्थापित बाढी प्रभावितलाई खानेकुराको व्यवस्था मिलाएका छन् ।
बिहिबार बिहानदेखि नेपालगञ्ज र अन्य क्षेत्रमा पानीको सतह घट्न थालेको छ ।