काठमाण्डु, २२ भदौ– सलाम एयरले हत्यामा सातै दिन ओमान–काठमाण्डु उडान भर्ने भएको छ ।
नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष–२०२० लाई मध्यनजर गर्दै सलामले सातै दिन उडान भर्ने भएको हो । सन् २०१६ मा स्थापित सलाम एयरलाइन्सले छोटै समयमा उच्च गतमिा बजार विस्तारका सार्थ व्यवसायिक दक्षता प्रदर्शन गरेको छ ।
सलाम एयरको नेपाल जीएसए आइएमई ट्राभलद्वारा आइतबार राजधानीमा आयोजित कार्यक्रममा त्यसबारे जानकारी गराइयो । कार्यक्रमका प्रमुख अतिथि कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले सलाम एयरको घोषणाले पर्यटन वर्ष– २०२० सफल पार्न महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे । नेपाल आउने पर्यटक संख्यामा वर्षेनी वृद्धि हुँदै गएको बताउँदै मन्त्री भट्टराईले ‘पर्यटन वर्ष २०२०’ को अवसरमा हवाई कम्पनीहरूको व्यापार–व्यवसाय प्रवद्र्घनमा थप योगदान पुग्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सलाम एयरको सेवा विस्तारपछि वैदेशिक रोजगारीका क्रममा ओमानलगायत विश्वमा रहेका नेपालीको यात्रा सहज हुने विश्वास व्यक्त गरे ।
उनले यस घोषणाले विदेशी पर्यटक भित्र्याउन समेत योगदान दिने उल्लेख गरे । आईएमई ग्रुमका प्रबन्ध निर्देशक हेमराज ढकालले सलाम एयरको सेवा विस्तारसँगै आगामी वर्ष एक लाख पर्यटकलाई सेवा दिने कम्पनीले लक्ष्य लिएको जानकारी दिए ।
सलाम एयरका व्यापार निर्देशक माजीन अल सलमानीले ठूलो संख्यामा नेपालीहरु वैदेशिक रोजगारीमा रहेको र नेपाल आफैंमा महत्वपूर्ण पर्यटकीय गन्तव्य भएकाले आईएमईसँगको सहकार्यमा सेवा विस्तार गरिएको बताए । कार्यक्रममा विभिन्न १० उत्कृष्ट ट्राभल कम्पनीलाई सम्मान गरिएको थियो ।