काठमाण्डु , २२ भदौ — साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेको भए पनि लगानीकर्ता ढुक्क हुन नसक्दा बजार निरन्तर ओरालो लाग्दै गएको हो ।
आज नेप्से परिसूचक १२।६१ अंकले घटेर ११७८।४६ बिन्दूमा झरेको छ । कुल १६५ कम्पनीको ११ लाख ७३ हजारभन्दा बढी कित्ता शेयर ३० करोड ५३ लाख रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएको छ । आइतबार समग्र परिसूचकमा गिरावट आए पनि आँधीखोला लघुवित्त कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । तर, पाँचथर पावर कम्पनी र युनिर्भसल पावर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यी कम्पनीको शेयर मूल्य भने करिब ९ प्रतिशतले घटेको छ ।
यस दिन सबैभन्दा बढी प्रभु बैंकको संस्थापक शेयर किनबेच भएको छ । यस कम्पनीको ५ करोड २४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । आज कारोबारमा आएका सबै समूहको परिसूचकमा गिरावट आएको छ ।