काठमाण्डु , १९ भदौ —मेलम्ची खानेपानी आयोजनामा पिडित स्थानिय कामदार र प्रहरी बिच झडप भएको छ ।
खानेपानीको मुहान अम्बाथानमा धर्नामा गएका पिडितसँगको झडपमा प्रहरीले अश्रु ग्यास प्रहार गर्नुका साथै केही राउण्ड हवाई फायर पनि गरेको छ । मेलम्ची आयोजनाको निर्माण कम्पनी सिएमसीले स्थानीय सप्लायर्स, कामदारको ज्याला,लोकल कन्ट्रयाक्टर्सको भुक्तानी नदिएको भन्दै पिडितहरु आन्दोलनमा उत्रिएका हुन् । मेलम्चीको अम्बास्थानमा आन्दोलनकारीले प्रदर्शन गर्दै आयोजनास्थल प्रवेश गर्न लागेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसपी माधव काफ्लेले जानकारी दिए ।
काफ्लेका अनुसार आन्दोलनकारीले प्रहरीमाथि ढुङगा मुढा प्रहार गर्दा प्रहरीतर्फ प्रहरीहरु उमेश भुजेल, रञ्जित गुरुङ र कुमार नेपाली गरी तीन जना घाइते भएका छन् । आन्दोलनकारीले मेलम्ची आयोजनाको सवारी साधान लगायतमा आक्रमण गर्दै क्षति पुर्याउन थालेकाले स्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग गरेको दावी गरेको छ ।
सरकारले यसै आर्थिक वर्षमा काम सक्ने लक्ष्यका साथ चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई जिम्मा दिएको छ ।भुक्तानी नपाएकाहरुले मेलम्ची खानेपानी आयोजना पीडित सङघर्ष समिति नै बनाएर आयोजना छाडेको निर्माण कम्पनी सीएमसीले दिनुपर्ने रकम भुक्तानी नपाएसम्म सिनो हाइड्रोलाई काम गर्न नदिने घोषणा गरेर आन्दोलन थालेका हुन् । आयोजनाको बाँधमा नै पुगेर अवलोकन गर्ने भन्दै पिडितहरु आगाडी बढेपछि प्रहरीले रोकेको हो ।
अम्बाथनमा पुर्वमन्त्री उवम् प्रतिनिधि सभाका सदस्य शेरबहादुर तामाङ प्रमुख जिल्ला अधिकारी, प्रदेश सभा सदस्य लगायतको टोली सहित एकै पल्ट जाने भनिता पनि प्रर्दशनकारीले पर्खन नसक्ने भन्दै ढुङगामुढा प्रहार गरेपछि घटनाले उग्र रुप लिएको हो ।