काठमाण्डु , १० भदौ — अर्थमन्त्री युवराज खतिवडाले सार्वजनिक सवारीसाधन विद्युतीय बनाइने तथा बाँकी सवारी साधन हाइब्रिडमा लाने बताएका छन् । राजधानीमा नाडा अटो शोको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले आयातित उर्जाको सट्टा आफ्नै देशको उर्जा प्रयोग गरेर हाइब्रिड गाडी संचालन गर्नुपर्ने बताएका छन् ।
अर्थमन्त्रीले कमसेकम २० प्रतिशतभन्दा कम मूल्य बृद्धि हुने उत्पादनमा बहस नगर्दा राम्रो हुने बताएका छन् ।
यसैगरी सवारी साधन नवीकरण गर्नका लागि अनलाईन मार्फत सबै विवरण राख्नुपर्ने ब्यवस्था गरी सहज बनाइने जानकारी दिएका छन् । देशले धान्न नसक्ने भएपछि करको दायरा तथा अन्तशुल्क बढाइएको उनको भनाई छ । अधिकतम भन्सार ८० प्रतिशत भन्दा बढी लगाउदैनौ भन्दै अर्थमन्त्रीले व्यावसायिक वातावरण बिग्रेको नभई लगानीको माग अनुसारको गतिमा पुग्न नसकिरहेको अवस्था विद्यमान रहेको नाडा अटो शोमा भनेका छन् ।
गत आर्थिक वर्षमा धेरै उद्योग दर्ता भएको र आयात १४ प्रतिशत भन्दा कम र निर्यात १९ प्रतिशत माथी रहेको भन्दै यसलाई सुखद मान्नुपर्ने तर्क अर्थमन्त्रीले गरेका छन् । अर्थमन्त्री खतिवडाले देशको औद्योगिकरणको लागि एसेम्ब्ली प्लान्ट राख्नुपर्ने बताएका छन् ।आयातित सवारीबाट आम्दानी बढाउनुभन्दा एसेम्बल्ड प्लान्ट राखेर देशमै उत्पादन थाल्नुपर्नेमा अर्थमन्त्री खतिवडाको जोड थियो । सरकारले विद्युतीय गाडीको एसेम्बल प्लान्टलाई प्राथमिकतामा राखेको पनि उनले जानकारी दिए ।
सार्वजनिक सवारी साधनको दर्ता हेर्ने हो भने बषैंमा दुई गुणा र दश वर्षमा चार गुनाले सवारी साधन आयात भएकोमा चिन्ता ब्यक्त गर्दै अर्थमन्त्रीले आयातित सवारीलाई कम गर्दै देशभित्रै गाडीको उत्पादन थाल्नुपर्ने धारणा राखेका छन् ।
उनले भने कुनै पनि देश औद्योगिकरणतर्फ जाने नै एसेम्बली प्लान्टबाट हो। हामीले विद्युतीय गाडीको एसेम्बली प्लान्टमा प्राथमकिता दिएका छौं । विद्युतीय सवारी उत्पादनका लागि २५ प्रतिशत सरकारी संरक्षण रहने समेत बताएका छन् ।