हुन्डी कारोबार गर्ने चार जना विरुद्ध मुद्धा दायर

काठमाण्डु टुडे २०७६ साउन १६ गते १३:१९ मा प्रकाशित

काठमाण्डु, १६ साउन —हुन्डीमार्फत विदेशी विनिमय अपचलन गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा ४ जनाविरुद्ध मुद्दा दायर भएको छ।

राजश्व अनुसन्धान विभाग हरिहरभवनले मनोजकुमार भेटवालसहित ४ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो। मनोज पुरानो बसपार्कस्थित काठमाण्डु भ्युटावरको निर्माणको ठेक्का पाएको कम्पनी जलेश्वर स्वच्छन्द विकोई विल्डर्सका संचालक समेत हुन्।
निशा गुरुङले सिंगापुरमा रहेका आफन्त तथा साथीभाइसँग रकम संकलन गरी गैर कानूनी रुपमा रकम भित्र्याएको विभागको दावी छ। उनले काठमाण्डु भ्यू टावरमा लगानी गर्ने भनी रकम संकलन गरेकी थिइन्।

उनले राजकुमार विष्ट र उनका भाइ शिव विष्टको सहयोगमा साढे ४ करोड बढी रकम ल्याई विभिन्न व्यक्तिहरुलाई वितरण गरेको विभागले बताएको छ।राजकुमार निशाको कम्पनी अभिताभ मल्टी पर्पोजका कर्मचारी समेत हुन्। सो कम्पनीले कुनै पनि कारोबार नगरेको भनी आन्तरिक राजश्व कार्यालयमा शून्य विवरण पेश गरेको विभागले बताएको छ ।

तर उक्त कम्पनीको बैंक खाताबाट भने ठूलो रकम बारम्बार संकलन हुने र झिक्ने गरेको देखिएको छ। कुल ४ करोड साठी लाख रुपैयाँ विगो कायम गरी प्रतिवादीहरु राजकुमार विष्ट, शिव विष्ट, मनोज भेटुवाल र निशा गुरुङलाई विगोको ३ गुणा सजाय तथा ३ वर्ष कैदको माग गरी विभागले मुद्दा दर्ता गरेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us