
काठमाण्डु, १५ साउन– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले आफू दिवंगत रवीन्द्र अधिकारीको उत्तराधिकारी भएको बताएका छन् ।
रवीन्द्रको उत्तराधिकारी हुन पाउनु आफ्ना लागि गर्वको विषय भएको उनको भनाइ थियो । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएपछि बुधबार सिंहदरबारस्थित मन्त्रालयमा कार्यभार ग्रहण गर्दै भट्टराईले आफू रवीन्द्रको उत्तराधिकारीका रुपमा आएको बताए । भट्टराईले परिस्थितिबस आफू रवीन्द्रको उत्तराधिकारी भएको उल्लेख गरे । ‘परिस्थितिले म रवीन्द्रजी बसेको कुर्सीमा बस्न आइपुगेको छु’, भट्टराईले भने, ‘म उहाँ (रवीन्द्र) को उत्तराधिकारी हुँ ।’ आफूले भन्दा रवीन्द्रले नै पर्यटन मन्त्रालयको नेतृत्व कुशलतापूर्वक गर्न सक्ने भन्दै भट्टराईले प्रकृतिलाई जित्न नसक्दा अधिकारीको निधन भएको र आफू उत्तराधिकारीका रुपमा आउनुपर्ने अवस्था उत्पन्न भएको बताए ।