
रौतहट,१५साउन—अज्ञात समुहले मंगलबार राती रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्वर ३ कार्यालयमा आगजनी गरेको छ ।
बुधराती राती करिब १ बजे गैंडाटारमा रहेको वडा कार्यालयमा आगजनी भएको हो ।
वडा कार्यालयमा आगजनी गरेको आरोपमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले एक जनालाई पक्राउ गरेको छ । सोही गैडाटार बस्ने रेव प्रसाद मैनालीलाइ प्रहरीले अनुसन्धानको लागी पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी कबित कटुवालले जानकारी दिएका छन ।
आगलागीबाट कार्यालय भित्र रहेका सम्पुर्ण समाग्री जलेर नष्ट भएको वाड अध्यक्ष बोधराज देबकोटाले जानकारी दिए ।आगजनीबाट वडा कार्यालयमा रहेको कम्प्युटर, ल्यापटप, प्रिन्टरलगायतका सामानका साथै कागजात समेत नष्ट भएको उनले जानकारी दिए । आगलागीबाट वडा कार्यालयको छ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको वडा अध्यक्ष देवकोटाले बताए ।
आगजनी विप्लव माओवादी समूहको घोषित बन्दको पुर्बसन्ध्यामा भएकाले विप्लव माओवादीको हात रहेको आशंका गरिएको छ । तर सो समूहले आगलागीको जिम्मा भने लिएको छैन । यसअघि छिमेकी जिल्ला सर्लाहीमा विप्लव माओवादी समूहका जिल्ला नेता मारिएका थिए । आगजनीको घटनापछि चन्द्रपुर नगरपालिका क्षेत्रका बासिन्दा त्रसित छन् ।