
गोरखा,९ साउन -चुमनुब्री गाउँपालिका हुल्चुकका ब्यापारी धनकमल गुरुङले गोरखाको धार्चे गाउँपालिका-३ खोर्लाबेशी ओढारमा लुकाएर राखेको १६ वटा बिस्कुट आकारको सुन बरामद गरेको गोरखाका प्रहरी प्रमुख एसपी ओम अधिकारीले बताए ।
यति नै किलो छ भनेर अहिले भन्न सकिदैन, मान्छे समातेर ल्याउदैछौं, थप अनुसन्धान हुदैछ,’ एसपी अधिकारीले भने । यसअघि घटनास्थल नजिकैको माछाखोला प्रहरी चौकीले १२ ढिक्का सुन बरामद भएको जानकारी दिए पनि जिल्ला प्रहरी प्रमुख एसपी अधिकारीले १६ ढिक्का नै भेटिएको पुष्टि गरेका हुन् ।
काठमाडौंमा पक्राउ परेका ब्यापारी धनकमले ओढारमा सुन लुकाएको ठाउँ देखाएका थिए । प्रहरीका अनुसार ओढारमा ढुंगामुनि झोलाभित्र हाते रुमालले बेरिएको, त्यसभित्र दुई वटा प्लास्टिकले ढाकिएको र त्यसभित्र बोरामा सुन राखिएको थियो । सुन दुईवटा झोलामा थियो ।
असार ११ गते राति खच्चडलाई सुन बोकाएर गोरखाको उत्तरी सीमानाबाट धार्चे गाउँपालिकाको माछाखोलातर्फ आउँदै गर्दा लुटेरा समूहले आक्रमण गरेको थियो । त्यसपछि धनकमल सम्पर्कविहीन भएका थिए ।
उनलाई आक्रमण गर्न खोज्ने ४ जना भने पक्राउ परेका थिए । पक्राउ परेकाहरुले धनकमलले सुन ल्याएको प्रहरीसमक्ष बताएका थिए । त्यसपछि खोजी गरेको प्रहरीले धनकमललाई बुधबार काठमाडौंमा पक्राउ गरेको थियो । उनलाई पक्राउ गरेर सुन लुकाएको ठाउँमा ल्याइएको प्रहरीले बताएको छ ।