भिसिटिएसका नीति र उद्योग व्यवसायीको विरोध

काठमाण्डु टुडे २०७६ साउन ६ गते १३:१३ मा प्रकाशित

काठमाण्डु, ६ साउन- नेपाल सरकारले हालै लागू गरेको भेइकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस) लगायतका नीतिमा आपुर्ति क्षेत्रका उद्योग व्यवसायीको विरोध प्रति साझा पार्टीको ध्यानाकर्षण भएको छ।

उद्योग व्यवसायको क्षेत्रमा लगानी प्रोत्साहन, व्यवसायको सुरक्षा, आकर्षक प्रतिफलको अवस्था सिर्जना, न्यायोचित, सहज र प्रभावकारी कर प्रणाली, आधुनिक प्रविधिको प्रयोग लगायतका कुराको नीतिगत र प्रकृयागत सुनिश्चितता गर्नु राज्यको दायित्व हो भन्ने साझा पार्टीको धारणा रहि आएको छ।

यस सम्बन्धमा सरकारले हालै अवलम्बन गरेका नीतिहरू सैद्धान्तिक तहमा उपयुक्त देखिए पनि उद्योग व्यवसायीहरूले विभिन्न व्यवहारिक कठिनाइ हुने कुरा औंल्याउँदै विरोधमा उत्रिने अवस्था सृजना हुनु सुखद कुरा होइन। कतिपय नीति कार्यान्वयन गर्न विद्यमान इन्टरनेट पूर्वाधारको अपर्याप्तता र अविश्वसनीयताले गर्दा आपुर्ति प्रणालीमा नै गम्भिर प्रतिकुल असर पर्न सक्ने उद्योग व्यवसाय क्षेत्रको चिन्ता प्रति सरकारले गम्भीरताका साथ सम्बोधन गर्नु पर्ने साझा पार्टी ठहर छ।

यस सम्बन्धमा लगानी, उत्पादकत्व र रोजगारी सृजनाको प्रमुख वाहक उद्योग व्यवसाय क्षेत्रको जायज मागहरू प्रति संवेदनशीलताका साथ सरकारले विचार गर्न, र उद्योग व्यवसाय क्षेत्रले पनि प्रभावकारी कर प्रणाली र व्यवहारिकताका आधारमा क्रमिक रुपमा आधुनिक प्रविधिको प्रयोगमा सरकारका नीति कार्यान्वयनमा सघाउन साझा पार्टी आग्रह गर्दछ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us