भारतबाट सवा दुई अर्बको तरकारी आयात

काठमाण्डु टुडे २०७६ साउन ५ गते १२:५३ मा प्रकाशित

 

बाँके, ५साउन-भारतबाट नेपालगञ्ज नाका भएर भित्रिने तरकारीको परिमाण अत्यधिक बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७४\७५ मा सवा अर्ब रुपियाँको तरकारी भित्रिएकोमा आर्थिक वर्ष २०७५\७६ मा सवा दुई अर्ब रुपियाँको तरकारी नेपालगञ्ज भित्रिएको छ ।

भारतबाट नेपालगञ्ज भएर भित्रिने तरकारी प्रदेश ५ सहित सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लासम्म पुग्ने गरेको छ । नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाका अनुसार आर्थिक वर्ष २०७५\७६ मा भारतबाट एक अर्ब ३८ करोड रुपियाँ मूल्यको तरकारी भित्रिएको बताए। गत आवमा भारतबाट ६६ हजार ६८४ मेट्रिक टन आलु मात्रै भित्रिएको थियो ।
आव २०७४\७५ मा ७७ करोड मूल्यको ३६ हजार ८२९ मेट्रिक टन आलु भित्रिएको थियो ।

भन्सार कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो आवको तुलनामा भारतबाट भित्रिएको गोलभेडा, प्याज, सालौट, लसुन, सागपात हरियो तरकारी, केराउ गेडा, बोडीजस्ता तरकारी गत आवमा बढी भित्रिएको छ । गत आवमा भारतबाट ४८ करोड मूल्यको बोडी, ३४ करोडको प्याज, सालौट, तीन करोड ६६ लाख मूल्यको गोलभेँडा, तीन करोड मूल्यको हरियो सागपात तरकारी नेपालगञ्ज नाका भएर भित्रिएको छ ।

यसैगरी अघिल्लो आव २०७४\७५ मा ४१ करोडको बोडी, सात करोडको प्याज, ४४ लाखको गोलभेँडा, दुई करोडको सागपात हरियो तरकारी, ४७ लाख मूल्यको केराउ भित्रिएको थियो । नेपालगञ्ज नाकाको वैधानिक भन्सार भएरबाहेक आम नागरिकले आफैँ रुपैडिया पुगेर दैनिक ठूलो परिमाणमा तरकारी भित्राउने गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us