निमार्ण भएको दुई महिनामै रोशी खोलाको पुल भासियो

काठमाण्डु टुडे २०७६ साउन ५ गते १२:०७ मा प्रकाशित

काभ्रेपलाञ्चोक, ५ साउन- निमार्ण सम्पन्न भएको दुई महिना नपुग्दै काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० साल्मिटार र वडा नं ११ बल्थली जोड्ने रोशीखोलाको पुल भाँसिएको छ ।


राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, तथा पूर्वाधार कार्यालयमार्फत रु तीन करोडको लागतमा बन्दना भगवती जेभी नामक निर्माण कम्पनीले बनाएको पुल भासिएको छ भने पुल ३५ दशमलव ६ मिटर लम्बाइको छ ।पुल साल्मिटारतर्फ करीब एक फिटसम्म र बल्थलीतर्फ करीब छ इन्च भासिएको छ । पुलको बल्थलीतर्फ दायाँबायाँ राखिएका दर्जन खम्बामध्ये केही भत्केर खोलामा खसेका छन् भने केही पुलसँगै भासिएका छन् ।

पूर्वाधार कार्यालय प्रमुख इञ्जिनीयर लोकनाथ रेग्मीले पुलको बिम नभासिएको, पुलको दायाँबायाँ जमीनसँग जोड्ने स्ल्याबमात्रै भासिएको बताए । निर्माणका बेलामा ध्यान नदिँदा स्ल्याबभित्र पानी पसेर भासिएको हो, रग्मीले भने । उनका अनुसार निर्माण कम्पनीले सम्पूर्ण क्षति पुनःनिर्माण गर्नेछ ।पुल निर्माणको एक वर्षसम्म ‘त्रुटि सच्याउने अवधि’को प्रावधान भएकाले सो अवधिसम्म भएका क्षति निर्माण कम्पनीले व्यहोर्नुपर्ने रेग्मीले जानकारी दिए । उनले पहिला क्षतिको विवरण सङ्कलन गरिएकाले अब पुलको गुणस्तरबारे परीक्षण गरिने बताए ।उनले भने, “सम्झौताअनुसारको गुणस्तर नभए निर्माण कम्पनीलाई कारवाही गरिनेछ ।”

त्रुटि सच्याउने अवधि (एक वर्ष)सकिएपछि सम्झौताअनुसारको पुल निर्माण कम्पनीले जिल्लास्थित प्राधिकरणको पूर्वाधार कार्यालयलाई हस्तान्तरण गर्नुपर्नेछ । तर निर्माण कम्पनीले भने पुल निर्माणार्थ सम्झौताअनुसारको रकम लिइसकेको छ ।

निर्माण सम्पन्न भएलगत्तै पुलको बल्थलीतर्फ दायाँबायाँ राखिएका खम्बा लडेपछि स्थानीयवासीले नपा कार्यालयमा गुनासो गरेका थिए । तत्कालीन अवस्थामा नपाको एक टोलीले गरेको अगुगमनमा पुल गुणस्तरीय नबनेको जानकारी ल्याएको नपा प्रमुख भीम न्यौपानेले बताए ।उनले भने, “हाम्रो अनुगमन टोलीले गत असारमै पुल गुणस्तरसँग नबनेको प्रतिवेदन पेश गरेको थियो, अहिले भासियो ।”

न्यौपानेले दाता र निर्माण कम्पनीबीच पुल निर्माण सम्बन्धमा गम्भीर छलफल गर्नुपर्ने बताए । साथै उनले भने“सम्बन्धित निकायलाई पुल निर्माणमा त्रुटि भएको जानकारी गराउँदा पनि बेवास्ता गरियो, सम्झौताअनुसारको गुणस्तरमा पुल नबनेको भए हामी जिम्मा लिँदैनौँ”, । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us