किन रोए अग्नि सापकोटा ?

काठमाण्डु टुडे २०७६ असार १७ गते १९:२७ मा प्रकाशित

काठमाण्डु, १७ असार– नेकपा सांसद अग्नि सापकोटा संसदीय समितिमा सरकारले राष्ट्रियतामा प्रश्न उठ्ने काम गरेको भन्दै भावुक बनेका छन् ।

अन्तर्राष्ट्रिय स्म्बन्ध समितिको मंगलबारको बैठकमा सापकोटा इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी (आईफा) अवार्ड–२०१९ का कारण नेपालको राष्ट्रियता र स्वाधिनतामै आँच आउने भन्दै भावुक भएका हुन् । सापकोटाले आफू राष्ट्रियताका लागि क्रान्ति गरेर आएको भन्दै राष्ट्रियता कमजोर पार्ने गतिविधिले दुःख लागेको उल्लेख गरे । ‘म राष्ट्रियताका लागि त क्रान्ति गरेर आएको हुँ’, उनले भने, ‘अहिले हाम्रो राष्ट्रियता कता जाँदैछ ?’ यति भन्दाभन्दै सापकोटाको गला अवरुद्ध भयो, उनी थप बोल्नै सकेनन् । केहीबेरपछि फेरि बोल्न थाले ।

भारतीय फिल्म हवार्डका लागि सरकारले १ अर्ब दिने कुरा सह्य नहुने बताए । सरकारको कदमले मुलुकको स्वाधिनता र स्वतन्त्रतामा आँच आउने टिप्पणी गरे । बैठकपछि सञ्चारकर्मीसँग सापकोटाले राष्ट्रियता र संस्कृतिमाथि अतिक्रमण भएकाले आफू स्तब्ध भएको बताए । ‘देशभक्तिको कुराले मलाई धेरै छुन्छ’, सापकोटाले भने, ‘म रोएको होइन, हृदयको बारुद्ध विस्फोट भयो ।’

समितिले अवार्ड रोक्न सरकारलाई निर्देशन दिएको छ । बैठकमा पर्यटन मन्त्रालयका सचिव, पर्यटन बोर्डका प्रमुख कार्यकारी लगायतलाई बोलाइको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us