नेकपाका ‘गुण्डा नाइके’ लामा पक्राउ

काठमाण्डु टुडे २०७६ असार १६ गते १८:५४ मा प्रकाशित

विराटनगर, १६ असार– कारले मोटर साइकल चालकलाई ठक्कर दिएर हत्या गरेपछि फरार भएका गुण्डा नाइके किरण लामालाई प्रहरीले पक्राउ गरेको छ ।

लामालाई पुष्पलाल चोकको एक घरमा लुकेर बसिरहेका बेला पक्राउ गरिएको प्रहरीले जनाएको छ । लामा सवार बा२०च ७४० नम्बरको कारले को३प ५६३४ नम्बरको गाडीले विराटनगर–४ बरगाछीमा शनिबार राति ठक्कर दिँदा मोटरसाइकल चालक शंकरकुमार मिश्रको मृत्यु भएको थियो । घटनापछि घरमा गाडी राखेर लामा फरार भएका थिए । उनले पठाएका नक्कली चालकलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले लामालाई कर्तव्य ज्यान मुद्धामा कारबाही अघि बढाइएको जानकारी दिए । लामा लामो समदेखि हत्या, कुटपिट, हप्ता असुलीजस्ता गतिविधिमा संलग्न रहँदै आएका छन् । नेकपा समर्थित लामा विराटनगरका अर्का गुण्डा नाइके पर्शुराम बस्नेतका दाहिने हात हुन् । लामो समय बस्नेत समूहमा रहेर गुण्डागर्दी गरेका लामा केही समययता छुट्टै समूह खडा गरेर गुण्डागर्दीमा संलग्न थिए । पछिल्लो समय उनले डान्सबार र मिटर व्यवाजमा लगानी गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us