गाउँमा बैंक पुगेसँगै आर्थिक कारोवार वढ्दै

काठमाण्डु टुडे २०७६ असार १५ गते १४:५१ मा प्रकाशित

काठमाण्डु, १५ असार,
तीन वटा मात्र स्थानीय तह रहेको रुकुमपूर्वको सबै स्थानीय तहमा बैंकका शाखा स्थापना भएका छन् । स्थानीय तहमा बैंक स्थापना भएसँगै ग्रामीण क्षेत्रका आर्थिक गतिविधि पनि बढ्न थालेको छ ।
सरकारले प्रत्येक स्थानीय तहमा बैंक पुर्‍याउने नीति अवलम्बन गरेपछि बैंकका शाखा स्थापना भएसँगै स्थानीय तहबाटै कारोवार गर्न सजिलो भएको छ । भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढामगरले भन्नुभयो, ँबैङ्क स्थापना भएसँगै बैङ्किङ कारोवार गर्न सजिलो हुनाका साथै ग्रामीण अर्थतन्त्रमा पनि सुधार हुँदै गएको छ ।ू गाउँपालिका भरको ८० प्रतिशत काम बैङ्कबाटै हुने गरेको र गाउँपालिकामा बाँकी रहेका काम सदरमुकाम रुकुमकोट तथा अन्य क्षेत्रबाट पनि हुँदै आएको उहाँले बताए ।
विगतमा चेतनाको अभावका कारण सर्वसाधारणले बैङ्किङ प्रणाली झन्झटिलो मान्दै आएकामा त्यसलाई अन्त्य गरी विश्वसनीय एवं चुस्त बनाउन बैङ्कले सहजीकरण गर्दै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले बताए । गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता बैङ्कबाटै लिन अनिवार्य बनाइएपछि वृद्धभत्ता अपाङ्गता भएका व्यक्तिलाई घरघरमा पुगेर बैङ्कले सेवा पुर्‍याउँदै आएको छ भने वित्तीय सुशासनमा समेत सहयोग पुगेको उहाँले जानकारी दिए।
प्रदेश नम्बर ५ को एक मात्र हिमाली तथा विकट जिल्ला रुकुमपूर्वको तीनवटै स्थानीय तहमा बैङ्कको शाखा स्थापना भएपछि स्थानीय तह, विद्यालय, उपभोक्ता समिति, सहकारी संस्था लगायतको वित्तीय सुशासन एवं आर्थिक पारदर्शी बनाउन उल्लेख्य सहयोग पुग्दै आएको छ ।
स्थानीय तहमा खुलेका बैङ्कले कृषि कर्जामा दिएको प्राथमिकताबाट ग्रामीण भेगमा कृषि क्षेत्रको विकासमा सुधार, लागानी वृद्धि र व्यावसायिक कृषिको वातावरण बनाएको बताइएको छ । भौगोलिक दृष्टिकोणले विकट क्षेत्र रुकुमपूर्वमा भने पर्याप्त मात्रामा बैङ्क स्थापना हुन सकेको छैन । एक गाउँबाट अर्को गाउँ पुग्न पनि एकदेखि दुई दिनसम्म लाग्ने ठाउँका बासिन्दा भने अझै पनि बैङ्कको पहुँचबाट टाढा छन् ।
जिल्लाको सिस्ने गाउँपालिकामा नेपाल बैङ्क लिमिटेड, वाणिज्य बैङ्क, प्रभु बैङ्क भूमे गाउँपालिकामा सिटिजन बैंक र पुथा उत्तरगङ्गा गाउँपालिकामा सिद्धार्थ बैङ्कका शाखा स्थापना भएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us