यस्तो छ कथित सिरिञ्ज आक्रमणकारीकाे नालीबेली

काठमाण्डु टुडे २०७६ असार १३ गते १५:३२ मा प्रकाशित

काठमाण्डु, १३ असार– काठमाण्डुमा केही दिनयता ‘सिरिञ्ज आतंक’ का रुपमा परिचित ऋंखलाबद्ध आक्रमणको पर्दाफास भएको छ ।
आक्रमणकारी युवा सन्तोष कार्की पक्राउ परेपछि यसको सबै तथ्य बाहिर आएको हो । यद्यपि प्रहरीले अझै अनुसन्धान जारी रहेको बताएको छ ।
को हुन् सन्तोष ?
आक्रमणकारी रामेछाप स्थायी ठेगाना भएका सन्तोष कार्की रेष्टुरेण्ट व्यवसायी हुन् । करिब ६० लाख लगानीमा उनले केही समयअघि महाराजगञ्जमा रेष्टुरेण्ट खोलेका थिए । रेष्टुरेण्ट राम्रो चलिरहेको थियो । तर, कार्की पक्राउ परेसँगै उनको ठूलो लगानीसमेत जोखिममा परेको छ ।
कसरी भयो घटना ?
कार्कीको डेरा नैकापमा थियो । उनी हरेक दिन सबेरै उठेर मोटरासइकलमा श्रीमतीसँगै रेष्टुरेण्ट आउँथे र सँगै फर्कन्थे । उनी हिंड्ने बाटो हो विष्णुमति करिडारको सोह्रखुट्टे, डल्लु, कलंकी हुँदै नैकपा । उनले घर फर्कने क्रममा बाटोमा एक्लै हिंडिरहेका महिलाहरुमाथि तीखो बस्तुले आक्रमण गरे । गत जेठ १८, २९, ३० र ३२ गते गरेर उनले पकनाजोल, डल्लु र ढल्कु क्षेत्रमा सात युवतीमाथि आक्रमण गरेका थिए । एकपछि अर्को गरी भएको घटनाले सिरिन्ज आक्रमणको नाम पायो । युवतीहरु हमेशा सिरिञ्ज आक्रमणको त्रासमा थिए । आक्रमणको शिकार भएकाहरुलाई रोग सर्ने आशंकामा एचआईभी÷एड्स र हेपाटाइटीस बी विरुद्धको खोप लगाइएको छ । तर, उनले भने आफूले रिसिञ्ज नभई ढलान किलाले घोच्ने गरेको बयान प्रहरीमा दिएका छन् ।
पक्राउ पर्नुको कारण
सिरिञ्ज आतंकको बिगबिगी भएको भन्दै सर्वसाधारणबाट समेत आलोचित हुन थालेपछि मानगरीय प्रहरी परिसर काठमाण्डु र अपराध महाशाखाको छुट्टाछुट्टै टोली घटनाको छानबिनमा सक्रिय भयो । आक्रमणकारीबारे प्रहरीमा विभिन्न सूचना आउन थाले । त्यसमध्ये एउटा हो, आक्रमणकारीले प्रयोग गर्ने मोटरसाइकल । पीडित युवती र प्रत्यक्षदर्शीको भनाअनुसार प्रहरीले आक्रमणकारीको निलो रंगको मोटरसाइकलमा निगरानी बढायो । बा ४७ प १३३१ नम्बरको मोटरसाइकल थियो उनको छ । सिसी टिभी फुटेजबाट मोटरसाइकल नम्बर प्रष्ट नभएपछि प्रहरी पनि हैरान भएको थियो । तर, प्रहरीलाई एउटा कुराले सजिलो बनायो । मोटरसाइकलमा अगाडि र पछाडि रातो रंगको स्टिकर टाँसिएको थियो । त्यही स्टीकरका कारण सन्तोष फन्दामा परे । प्रहरीले सूचना पायो– दुईतिर रातो रंगको स्टिकर टाँसिएको नीलो रङको पल्सर महाराजगञ्ज क्षेत्रमा देखियो । काठमाण्डु परिसरले उक्त मोटरसाइकलको फलो गर्न महानगरीय प्रहरी वृत्त महाराजगञ्जलाई निर्देशन दियो । महाराजगञ्ज वृत्तको टोलीले पार्किङमा रहेको मोटरसाइकल दिनभरी कुरेरै बस्यो । राति १० बजेतिर सन्तोष जब मोटरसाइकल लिन आए, तब फन्दामा परे । बयानका त्रममा उनले आफूलाई रमाइलो लागेकाले घटना गराएको बताएको महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रमुख उत्तम सुवेदीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us