
काठमाण्डु, ११ असार– सत्तारुढ नेकपाको राजनीतिक प्रतिवेदनमा सत्तारुढ नेपाली काँग्रेसप्रति आक्रामक आरोप लगाइएको छ ।
काठमाण्डुटुडेले फेला पारेको नेकपाको गोप्य प्रतिवेदनमा काँग्रेसलाई पूँजीपतिहरुको पार्टी भनिएको छ । हाल प्रकाशनको तयारीमा रहेको सो प्रतिवेदनमा प्रधानमन्त्री केपी ओलीको पार्टी कार्यदिशा जनताको बहुदलीय जनवाद बनाउन प्रस्ताव गरेपछि पछिल्लो समय नेकपाभित्र त्यसले विवाद बढाएको छ । काँग्रेसले सामन्तवादविरोधी पुँजिवादी क्रान्तिको नेतृत्व अवसर पाए पनि ढुलमेले, सम्झौतापरस्त र दलाल प्रवृत्तिको कारणबाट यसको नेतृत्वमा लोकतान्त्रिक क्रान्तिले पूर्णता पाउन नसकेको उल्लेख गरिएको छ । काँग्रेस नेपालको दलाल तथा नोकरशाही पुँजीपति वर्गको मुख्य हिस्साको प्रतिनिधित्व गर्ने दल भएको निस्कर्ष प्रतिवेदनमा छ । लामो समय मुलुकको नेतृत्व गरेको काँग्रेसको नवउदारवादी गलत अर्थनीतिका कारण देशमा उत्पादक शक्तिको विकास हुन नसकेको र आर्थिक विकास हुन नसकेको ठहर नेकपाको छ । काँग्रेसको वर्गचरित्रमा आधारित नवउदारवादी नीतिकै कारण उसले लगाउने गरेको ‘प्रजातान्त्रिक समाजवाद’ को नारा औपचारिकता र ढोंगमा परिणत भएको आरोप लगाइएको छ । यस्तै काँग्रेसले आफूलाई कहिल्यै पनि राष्ट्रिय स्वाधीनता र हितका सन्दर्भमा दृढतापूर्वक उभ्याउन नसकेको आरोप नेकपाले लगाएको छ । काँग्रेसले राष्ट्रियताबारे सम्झौतापरस्त र आत्मसमर्पणवादी नीति लिँदै आएको पनि प्रतिवेदनमा छ ।
काँग्रेस सरकारमा हु्ँदा कयौंपटक राष्ट्रिय हितविपरीत सन्धिसम्झौता भएको र राष्ट्रियतामाथि आघात पु-याएको गम्भीर आरोप लगाइएको छ । ‘२००७ सालको दिल्ली सम्झौतादेखि २०७२ सालको नाकाबन्दीसम्मका प्रमुख घटनाहरुमा यसले राष्ट्रिय हित र स्वाधीनताको पक्षमा अडान लिनुको साटो आत्मसमर्पणवादी नीति लिँदै आएको छ’, प्रतिवेदनको राजनीतिक शक्तिहरुको विश्लेषण उपशीर्षकमा भनिएको छ, ‘राष्ट्रियताको मुद्दामा सम्झौतापरस्त नीति यसको मुल प्रवृत्ति नै बन्न पुगेको छ ।’ काँग्रेसले विगतमा पटकपटक सरकारको नेतृत्व गर्दा अलोकतान्त्रिक निर्णय र काम गरेको तथा भ्रष्टाचारविरुद्ध आफूलाई खडा गर्न नसकेको मात्र होइन, कयौं सन्दर्भमा भ्रष्टहरुको संरक्षणसमेत गरेको प्रतिवेदनमा आरोप लगाइएको छ । नेकपाले वर्गीय, वैचारिक र राजनीतिक रुपमा कम्युनिष्ट आन्दोलन र सर्वहारा श्रमजिवी वर्गको मुख्य प्रतिस्पर्धा काँग्रेससँग हुने किटान गरेको छ ।