
रुपन्देही, ११ असार– चट्याङ लागेर मंगलबार साँझ दाङ र रुपन्देहीमा ६ जनाको ज्यान गएको छ । दाङमा तीन बालक र रुपन्देहीमा दुई वृद्धासहित तीनजनाको मृत्यु भएको हो ।
दाङको राप्ती गाउँपालिका–३ मौरीघाटका ११ वर्षका रमित चौधरी, ११ वर्षकै विनाश चौधरी र १३ वर्षका साजन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मौरीघाट माविछेउमा रहेको जामुनको रूखमा चढेका वेला रूखमै चट्याङ परेर उनीहरूको घटनास्थलमै ज्यान गएको डिएसपी विनोदविक्रम शाहले बताए । विनाशका भाइ आठ वर्षीय अविनाश चौधरी भने गम्भीर घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
त्यस्तै रुपन्देहीमा खेतबारीमा काम गरिरहेका बेला चट्याङ लागेर गैडहवा गाउँपालिका–७ का २५ वर्षीय भगवानदास लोध, कञ्चन गाउँपालिका–२ का ६० वर्षीय नन्दराम अर्याल र सैनामैना नगरपालिका–७ का ६२ वर्षीय चन्द्रबहादुर विकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय सूर्यपुराका हवल्दार रामचन्द्र केसीका अनुसार उनीहरूको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । रुपन्देहीमा मंगलबार नै चट्याङ लागेर तीनजना घाइते भएका छन् । सियारी गाउपालिका–२ की १४ वर्षीया ममता साहनी, सियारी–७ का ११ वर्षीय गौतम मल्लाह र १५ वर्षीय भोला मल्लाह घाइते भएका हुन् । ममता साहनीको मणिग्रामस्थित क्रिमशन अस्पताल तथा गौतम मल्लाह र भोला मल्लाहको लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । नयाँ पत्रिकाबाट