संसदद्वारा बजेट पारित

काठमाण्डु टुडे २०७६ असार १० गते १७:४९ मा प्रकाशित

काठमाण्डु, ११ असार– प्रतिनिधिसभा बैठकबाट ‘विनियोजन विधेयक, २०७६’ बहुमतले पारित भएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा अर्थमन्त्री युवराज खतिवडाद्वारा ‘विनियोजन विधेयक, २०७६ लाई पारित गरियोस्’ भनी प्रस्तुत प्रस्ताव बैठकले पारित गरेको हो ।  साथै अर्थमन्त्री खतिवडाले ‘आर्थिक विधेयक, २०७६ माथि विचार गरियोस्’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७६ माथि विचार गरियोस्’ र ऋण तथा जमानत (तेइसौं संशोधन० विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्तुत गरेको बेग्लाबेग्लै प्रस्तावलाई पनि बैठकले बहुमतले स्वीकृत गरेको छ ।

बैठकमा ती विधेयकमाथिको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले सेवामा कर लाग्ने तर कुन सेवामा कसरी लगाउने भन्ने र करको दरबारेमा भने छलफल गर्न सकिने बताए । ।  उनले भने, ‘पूर्वाधार निर्माण र पूँजीगत खर्चका लागि ऋण लिने भनिएको हो, आन्तरिक ऋण स्वीकार्य सीमाभित्रै छ ।’ बैठकमा सांसदले सरकारले करको दायरा बढाउनाको साटो जनतालाई दुःख दिने नियतले करको दर किन बढाएको भनी प्रश्न गरेका थिए । त्यसअघि दुर्गा पौडेल, प्रेम सुवाल, दिव्यमणि राजभण्डारी, रङ्गमती शाही, मीनेन्द्रप्रसाद रिजाल, राजेन्द्रकुमार केसी, मीनबहादुर विश्वकर्मा, उमा रेग्मी, सुजाता परियार, सत्यनारायण शर्मा खनाल, गगनकुमार थापा, लक्ष्मी परियार, बहादुरसिंह लामा तामाङ, दिलेन्द्रप्रसाद बडू, नारायण खड्का, डिला सङ्ग्रौला, सञ्जयकुमार गौतम, ज्ञानेन्द्रबहादुर कार्की, देवेन्द्रराज कँडेल, विजयकुमार गच्छदार र पार्वता डिसी चौधरीले विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयसम्बन्धमा राखेको खर्च कटौतीको प्रस्ताव बैठकको बहुमतले अस्वीकृत गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असार १३ गते अपराह्न ४ बजे बस्नेछ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us