
काठमाण्डु, ११ असार– विवादित गुठी विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिले फिर्ता भएको छ ।
राष्ट्रियसभाले मंगलबार विधेयक फिर्ता गरेको हो । बैठकमा भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले विधेयक फिर्ताको प्रस्ताव गरेकी थिइन् । विधेयकका कतिपय प्रावधानले मौलिक संस्कृति मास्ने भन्ने काठमाण्डु उपत्यकाका नेवार समुदाय प्रदर्शनमा उत्रिएपछि सरकारले यसअघि विधेयक फिर्ताको घोषणा गरेको थियो । तर, विधिवत फिर्ता हुन बाँकी थियो । मन्त्री अर्यालले नै राष्ट्रियसभामा गत १७ वैशाखमा विधेयक दर्ता भएको थियो ।
अर्यालले जनभावनाको कदर गर्दै विधेयक फिर्ता लिइएको बताइन् । विधेयक फिर्ता लिँदै गर्दा उनले खारेजीको माग उठेको भन्दै त्यसलाई नाजायजको संज्ञा दिइन् । विधेयक फिर्ता भएकाले खारेजीको सवालै नआउने उनको तर्क थियो । ‘फिर्ता गरेर पुग्दैन खारेजी नै गर्नुपर्छ भनेको सुन्दा अचम्म लाग्छ । अब कुन चिज खारेजी गर्ने हो ?’, अर्यालले प्रश्न गरिन् ‘गुठी विधेयकलाई सरकारसँग जोरी खोज्ने निहुँ नबनाउन म आग्रह गर्छु ।’