
काठमाण्डु, १० असार– आफ्ना सर्लाही इन्चार्ज कुमार पौडेल हत्याको विरोधमा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान
गरेको नेपाल बन्दका कारण राजधानीसहित मुलुकभरको जनजीवन प्रभावित भएको छ ।
काठमाण्डु उपत्यकाका सडकमा सार्वजनिक सवारी साधन फाट्टफुट्ट मात्र चलेका छन् । निजी सवारी भने केही मात्रामा चलेको देखिन्छ । बजार, शिक्षण संस्था र कलकारखाना ठप्प छन् । यद्यपि बिहानको तुलनामा क्रमशः सवारी साधनको चाप बढ्दै गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । तर, उपत्यकाबाट बाहिरिने सवारी साधन भने चलेका छैनन् । यद्यपि सडकमा बन्दकर्ता भने देखिएका छैनन् । पौडेलको गत ५ असारमा मलंगवामा प्रहरीको गोलीमाट मारिएका थिए । प्रहरीले दोहोरो भिडन्तमा पौडेल मारिएको दाबी गरेको छ । तर, उनका परिवार र विप्लव समूहले भने पक्राउ गरी हत्या गरेको आरोप लगाएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले समेत प्रहरीले दाबी गरेजस्तो पौडेलको मृत्यु मुठभेडमा नभई पक्राउ गरी हत्या गरेको आशंका गर्दै छानबिन गर्न सरकारलाई सोमबार निर्देशन दिएको थियो ।