
काठमाण्डु, ९ असार– सरकारद्वारा प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव पुत्रले आफ्नो गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर गाउँलेको मन जित्ने कोसिस गरेका छन् ।
विप्लवपुत्र डा. प्रकाश चन्दले कपिलवस्तुको शिवगढीमा स्वास्थ्य शिविर सञ्चालन गरेर गाउँलेको निःशुल्क उपचार गरपछि सबैले तारिफ गरेका छन् । शिवगढी नगरपालिका–३ भगवानपुरस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा उनको नेतृत्वमा असार ७ र ८ गते दुई दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । प्रकाश नेकपाको जनस्वास्थ्यकर्मी संघका केन्द्रीय महासचिव हुन् ।
प्रकाशले शिविरबाट करिब २ हजार ५ सय जनाले प्रत्यक्ष लाभ लिएको बताए । उनले विभिन्न रोगको परीक्षणका साथै ए–क्सरे र औषधि समेत उपलब्ध गराइएको काठमाण्डुटुडेलाई बताए । प्रकाशले चितवनको पुरानो मेडिकल कलेजबाट आफ्ना ११ जना चिकित्सक र स्वास्थ्यकर्मी साथीलाई स्वास्थ्य शिविर सञ्चालनका लागि गाउँ लगेका थिए । प्रकाशले सोही मेडिकल कलेजबाट एमबीबीएस अध्ययन सकेका हुन् ।