गृहमन्त्री बादलले छाडे केपी ओली गुट !

काठमाण्डु टुडे २०७६ असार ९ गते १८:०३ मा प्रकाशित

काठमाण्डु, ९ असार– पछिल्लो केही समययता प्रधानमन्त्री केपी ओलीनिकट मानिएका गृहमन्त्री रामबहादुर थापा बादलले फेरि गुट परिवर्तन गरेका छन् ।

दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीको अन्तरिम कार्यदिशालाई लिएर विवाद सतहमा आएका बेला बादल प्रचण्ड क्याम्पमै फर्किएका हुन् । ओलीसमूहमा रहेका कारण मन्त्रिपरिषद विस्तार हुँदासमेत बादल गृहमन्त्रीमै कायम हुने चर्चा थियो । पछिल्लो विवादमा बादलले प्रचण्डलाई साथ दिएको प्रचण्डनिकट एक स्थायी समिति सदस्यले जानकारी दिए ।

‘पछिल्लो विवादमा उहाँ (बादलजी) ले अध्यक्ष प्रचण्डलाई साथ दिने बताउनुभएको छ’, ती नेताले भने, ‘उहाँहरुबीचमा भएका आशंका हटेका छन् ।’ बादलसँग ३३ केन्द्रीय सदस्य छन् । पार्टीभित्रको समीकरणमा बादलको भूमिका निर्णयक मानिन्छ । ती नेताले अध्यक्ष प्रचण्ड र बादलबीच अहिले निरन्तर छलफल चलिरहेको पनि जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us