
काठमाण्डु, ६ असार – समाजवादी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारलाई दुई तिहाईको दंम्भ देखाउने काम बन्द गर्न आग्रह गरेका छन् । उनले भने ‘फलेको हांगो झुक्छ, तपाईहरु दुई तिहाई बहुमतको सरकारको प्रतिनिधित्व गरिरहनुभएको छ। त्यसकारण दम्भको प्रर्दशन गर्ने होइन ।’
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै डा. भट्टराईले राम्रा र नराम्रा कामका आधारमा जनमत बन्ने भन्दै अहिलेको मतादेश दिगो नहुने तर्फ सचेत गराए । मतादेश दिगो नहुने भन्दै उनले छिमेकी पश्चिम बंगालको उदाहरण दिए। ‘३४ बर्षसम्म बामपन्थीको सरकार चल्यो, अहिले बंगालमा एक सिट पनि जित्न सकेन’ उनले भने ‘७० बर्ष सम्म सोभियत संघमा कम्युनिष्ट शासन चल्यो, त्यहा अहिले कम्युनिष्ट पार्टीको नाम निसान पनि खोज्न गाह्रो भइसक्यो ।’
पछिल्ला कदमले सरकार केन्द्रीकरण तर्फ जान लागेको संकेत दिएको भट्टराईको भनाइ छ । गुठी विधेयकको विरोधमा राजधानीमा भएको प्रर्दशनलाई सांकेतिक ढंगले बुझेर संविधान विपरित ल्याईएका मानवअधिकार आयोग, मिडिया काउन्सिल, सुरक्षा परिषद् लगायत विधेयकहरु तुरुन्तै खारेज गर्नसमेत उनले माग गरे ।