
काठमाण्डु, ५ असार – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता प्रक्रिया मुलुकलाई सफलतामा अघि बढाउने कुरासंग जोडिएको बताएका छन् ।
प्रेस संगठन नेपालले कास्कीले बिहिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, ‘अहिले देशको र सरकारको नेतृत्व गर्ने पार्टी हुनुको नाताले यो पार्टीको एकता प्रक्रियालाई अन्तिम रुप दिने र तलसम्मका कमिटिहरुको परिचालन गर्ने कुराले देशको, सरकारको र समग्र विकास प्रक्रियाका निम्ति रणनीतिक अर्थ राख्छ । यो कुराको बोध हामी सबैलाई छ र हामी त्यसैमा अन्तिम रुपले प्रयासरत छौं ।’
अध्यक्षले जनताको जनादेशकै कारण पार्टी एकता भएको भन्दै एकताका बेला भएका सहमति र सम्झौता कार्यान्वयन हुनुपर्ने बताए । दुई अध्यक्ष बीच एकैपटक टुंग्याउने भनेर सल्लाह भएको र शनिवार सचिवालयको बैठक बसी एकता प्रक्रिया सबै टुंग्याउने कसरतमा रहेको अध्यक्षको भनाई थियो ।
गुठी विधेयकका बारेमा जनताको असन्तुष्टि देखा परेपछि फिर्ता लिइएको भन्दै भने, ‘गुठी सम्बन्धी विधेयकमा नयाँ शीराबाट अघि बढ्छ । सबै गुठीहरु एकै प्रकृतिका छैन, सबै समस्याको हल हुने गरी विधेयक आउछ ।’
अध्यक्ष प्रचण्डले विधेयकहरुबारे रहेका प्रावधानहरुका बारेमा जनतालाई बुझाउन नसकिएको बताए ।
त्यस्तै अर्को कार्यक्रममा प्रचण्डसँग पोखराका पर्यटन व्यवसायीले पर्यटनमन्त्री मागेका छन् । उनीहरुले मन्त्री भएर अड्किएका काम गर्न नसकेको बताएका थिए । प्रचण्डले पनि चाँडै नै पर्यटनमन्त्री दिलाउने आश्वासन दिएका थिए । पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि पर्यटन मन्त्रालयको जिम्मेवारी स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हालिरहेका छन् ।
पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले पर्यटनमन्त्रीको चाँडै टुंगो लगाउन आग्रह गरेका छन् ।
‘नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ भइसकेको अवस्थामा पर्यटन क्षेत्र अविभावकविहीन अवस्थामा रहेको लामो समय भएको सर्वविदितै छ,’ उनले भने, ‘यस विषम परिस्थितिलाई मध्यनजर गरी छिटोभन्दा छिटोे पर्यटनमन्त्री चयन गर्ने व्यवस्था गरिदिनु हुन अनुरोध गर्दछौं ।’
प्रचण्डले मन्त्रिपरिषद पुनर्गठनको विषय उठेको भन्दै पर्यटनमन्त्री पनि छिट्टै टुंगो लाग्ने बताए ।
‘मन्त्रिपरिषदकै पनि पुनर्गठनसँग सम्बन्धित चर्चा, छलफल भइराखेकै छ,’ उनले भने, ‘पर्यटनमन्त्रीको कुरा यसपटक मिल्छ नै पनि ।’