युट्युवमा किन भाइरल हुन्छन् अश्लिल हेडलाइन ?

–प्रवेश सुवेदी २०७६ असार ५ गते १४:२७ मा प्रकाशित

काठमाण्डु, ५ असार – सामाजिक सञ्जाल तथा इन्टरनेटको विषयमा बहस गर्दा तीन कुरालाई छुटाउनु हुँदैन । पहिलो कन्टेन्ट प्रोड्युसर अर्थात सामग्री बनाउने मान्छे । दोस्रो प्लेटफर्म अर्थात प्रसारण हुने माध्यम । र तेस्रो युजर कन्जुमर अर्थात प्रयोगकर्ता । यी तीन तत्व एक आपसमा सम्बन्धीत छन् ।

राम्रो नराम्रो दुवै सामग्री बन्न पनि यीनको मुख्य भूमिका हुन्छ । यी कुराबीचमा सन्तुलन मिलेन भने अनावश्यक सामग्री बन्न थाल्छ ।

इन्टरनेट अघि हामीसँग परम्परागत सञ्चारका साधन थिए । त्यसमा दक्ष मानिसले काम गर्थे । सम्पादकीय नियमदेखि सामग्रीले समाजलाई कस्तो असर गर्छ भन्ने कुरालाई ध्यानमा राखेर काम गर्ने चलन थियो । त्यो बेला प्रयोकर्ता निष्क्रिय हुन्थे । कार्यक्रम निमार्णमा प्रयोगकर्ताको कुनै भूमिका थिएन । त्यो बेला सूचनाका माध्यम पनि खासै थिएनन् ।

प्रयोगकर्ताले आफ्नो विचारलाई प्रोड्युसर सम्म पुर्याउन निकै अप्ठ्यारो थियो । प्रोड्य्सरले आफ्नै तालको सामग्री निर्माण गथ्र्याे ।

आज समय धेरै बदलिएको छ । इन्टरनेटले समाजलाई खुला बनाइदिएको छ । प्रयोगकर्ता को ? प्रोड्युसर को ? भनेर छुट्याउन नसक्ने भइसक्यो । अहिले जो सुकै प्रोड्युसर हुन सक्छ, जो सुकै कन्जुमर । यस्तो अवस्थामा सिर्जना भएका सामग्री गुणस्तरिय हुँदैनन् । इन्टरनेट ‘नन रेस्ट्रिक्टेड’ प्रणाली हो ।

यसमा कसैलाई पनि रोकटोक छैन । यसले समाजमा सकारात्म र नकारात्मक दुवै परिवर्तन आएको ल्याएको छ । नकारात्मक परिवर्तनसँग जुध्ने सामाजिक, प्राविधिक तथा कानूनी पक्षहरु हाम्रोमा विकास भइसकेका छैनन् । जसले गर्दा चाहिने भन्दा नचाहिने कुराहरु भाइरल भइरहेका छन् । खास गरी युट्युवमा अर्थहिन सामग्रीको दबदबा छ ।

हामीकहाँ प्रमोसनल ह्युमर र सेन्सेसनल बढी भाइरल हुन्छन् । यस्ता सामग्रीले मानिसलाई उत्साहित उत्तेजित र अचम्मित बनाउँछन् । युट्य्बमा चर्चित हुने सामग्री अर्थहिन छन् वा अर्थपूर्ण छन् भन्ने कुरा छुट्याउन गाह्रो छ । समाजले कस्तो सामग्री खोजिरहेछ भन्ने बुझ्न कठिन हुन्छ ।

हरेक मान्छेसँग हरेक विषयको जानकारी हुँदैन । जसकारण एकदमै हलुका तथा खास अर्थ नराख्ने सामग्रीसँग प्रयोकर्ताको लगाव बढ्छ । त्यस्तै सामग्रीले बढी चर्चा पाउँछन् ।

अहिले जो जो भाइरल भइरहेका छन्, उनीहरु सबैको एउटै उद्धेश्य भनेको आफूलाई चिनाउनु हो । तर, समाज यो कुरामा कत्तिको जानकार छ, त्यो महत्वपूर्ण कुरा हो ।

समाजका आफ्नै विचार र धारणा छन् । समाजको संरचना अनुसार नै ‘बाबाजी’, ‘माताजी’, ‘भुकम्प’, ‘सेक्स’ जस्ता कुराहरु भाइरल भएका हुन् । यीनै कुरालाई अमेरिका वा अन्य कुनै युरोपेली देशमा लगेर प्रसारण गर्ने हो भने केहि फरक पार्दैन । त्यहाँको समाजको संरचना र सामग्रीको विषय उनीहरुसँग मेल खाँदैन । तर, हाम्रोमा यीनै कुरालाई चासो दिएर हेरिन्छ । त्यसैले पनि युट्युबमा भिडियो बनाउनेले यस्तै कुरा खोजेर प्रसारण गर्छन् ।

पछिल्लो समय यौनको विषयलाई लिएर बनाइएका भिडियोहरु भाइरल हुने गरेका छन् । नेपाली समाजमा अझै पनि यौनलाई खुलेर बहसको विषय बनाइएको छैन । समाज संकुचित हुँदा युट्युबदेखि अन्य सामाजिक सञ्जालमा आएका यस्ता भिडियोलाई मान्छेले चासो दिएर हेर्छन् ।

यस्ता सामग्रीले अत्यधिक चर्चा पनि पाउँछन् । यस्ता सामग्री भाइरल हुनुमा प्रोड्युसर मात्र दोषी होइनन् । यसमा समाजको संरचना पनि दोषी छ । मंगल ग्रहमा रकेट लैजाने कुरा हाम्रो समाजमा चल्दैन । तर, कुनै बाबाजी, भुकम्पको भविश्यवाणी, सेक्स जस्ता कुराले तुरुन्त चर्चा पाउँछन् ।

यस्ता भिडियोलाई कम गर्न सरकारी तथा बौद्धिक तवरले लाग्नुपर्छ । विश्वविद्यालय, रिसर्च सेन्टर र सरकारी पक्षबाट राम्रो सन्देश जाने सामग्री निमार्ण गर्नुपर्छ । राम्रो तथा बौद्धिक सामग्री निर्माण हुँदा भूकम्प र बाबा जस्ता सामग्रीले ठाउँ पाउँदैनन् । गुणस्तरीय सामग्रीको विकल्पमा केहि नपाएपछि प्रयोगकर्ताले यस्तै कुरालाई स्वीकारेर बस्छन् ।

युट्य्वमा बौद्धिक वर्ग लागेर अर्थपूर्ण सामग्री निर्माण नगरेसम्म यो प्रक्रिया चलिरहन्छ । यस्ता सतही विषयवस्तुले ठाउँ पाइरहन्छन् । यस्ता सामग्रीले हाम्रो जस्तो विकासोन्मुख देशमा बढी प्रभाव पार्छन ।

अर्को कुरा प्रयोगकर्ताले पनि यस्ता सामग्रीलाई वेवास्ता गर्ने हो भने यस्ता सामग्री बन्दै बन्दैनन् । तर, कमजोर मिडिया साक्षरताका कारण के महत्वपूर्ण हो भनेर प्रयोगकर्ता छुट्याउन सक्दैनन् । अर्कोतिर के सामग्री हेर्ने भन्नलाई त्यसको विकल्पमा पनि केहि छैन् ।

हाम्रो समाज राजनीतिक, सामाजिक र प्राविधिक रुपमा ‘ट्रान्जिसनल’ समयमा छ । हाम्रोमा यस्ता विषयलाई लिएर नीति नियम बनिसकेका छैनन् । भएका केहि नियम पनि कार्यान्वयन हुँदैनन् । सामाजिक मनोविज्ञानलाई ध्यान दिने हो भने यी कुराले समाजको चित्रण गरिरहेका हुन्छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us