नयाँ दिल्ली, ५ असार। बलिउड चर्चित अभिनेता सलमान खानलाई नयाँ फिल्म ‘भारत’बाट राम्रो सफलता मिलेको छ। फिल्म ‘ट्युब लाइट’ र ‘रेस ३’ बाट लगातार फ्लप भएका सलमानलाई यस पटक सफलता मिलेको हो ।
‘ट्युब लाइट’ र ‘रेस ३’ जस्ता चलचित्रलाई खासै नरुचाएका दर्शकले सलमानको नयाँ फिल्म ‘भारत’ भने निकै रुचाएका छन्। तीन वर्षअघि रिलिज भएको फिल्म ‘सुल्तान’ पछि सलमान खानले बल्ल स्वदेशमा २०० करोडको सफलता पाएका हुन्।
१९ वर्ष लामो हरिण सिकार काण्डमा दुई दिनअघि मात्र सफाई पाएका उनको अहिलेको फिल्म सुपरहिट भएको छ । हरिण सिकार काण्डमा सफाई पाएको दुई पछि नै उनको फिल्म ‘भारत’ २०० करोड क्लब प्रवेश गरेको हो ।
भारतमा रिलिज भएको १४ औं दिनमा यो फिल्मले २०१ करोड ८६ लाखको व्यापार गरेको छ । आफ्ना दुई फिल्म एकपछि अर्को लगातार असफल भएपछि निकै निराश रहेका खानलाई फिल्म ‘भारत’ ले निकै खुसी दिएको छ ।
फिल्म ‘भारत’ ले भारतमात्रै होइन, विश्व बजारमा नै राम्रो व्यापार गरिरहेको र आगामी वर्ष चीनमा पनि रिलिज गराउने सलमानको तयारी छ ।