सदन अवरुद्ध पार्ने देउवाको चेतावनी

काठमाण्डु टुडे २०७६ जेठ २४ गते १७:३५ मा प्रकाशित

काठमाण्डु, २४ जेठ – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले मिडिया काउन्सिलसम्बन्धि विधेयक अघि बढाए संसद अवरुद्ध पार्ने चेतावनी दिएका छन् ।

सभापति देउवाले लोकतन्त्र विरोधी मिडिया काउन्सिल विधेयक, मानव अधिकार हनन् हुने गरी आएको मानव अधिकार आयोगसम्बन्धि विधेयक संसदबाट अघि बढाउन खोजे संसद र सडक दुवै अवरुद्ध पारेर आन्दोलन चर्काउन आफ्नो पार्टी बाध्य हुने पनि बताए ।

शुक्रबार पार्टीद्वारा ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले बालुवाटारलगायतका सार्वजनिक तथा गुठीको जग्गा नियन्त्रणमा लिएर पार्टीका सांसदहरुलाई दिने काम गरिरहेको आरोप लगाउँदै त्यस्ता गतिविधि रोक्न पनि आफ्नो पार्टी लागिपर्ने बताए ।
सभापति देउवाले सरकारले मिडियामाथि अंकुश लगाएर लोकतन्त्रलाई कमजोर बनाउने षडयन्त्र गरिरहेको पनि दोहोर्‍याए । सरकारका हरेक कदम लोकतन्त्र र जनता विरोधी भएकाले आफ्नो पार्टीले प्रतिवाद गर्ने योजना तय गरेको सभापति देउवाको भनाई छ ।

‘लेख्न नपाइने मुलुकमा मानवअधिकार हुँदैन’ देउवाले भने, ‘प्रेस स्वतन्त्रता र प्रजातन्त्र पर्यायवाची हुन् कुनैलाई दमन गर्दा पनि मावनअधिकार हनन् हुन्छ ।’ नेकपाले मानवअधिकारलाई कमजोर बनाउन खोजेको तर कांग्रेसले यस्तो हुन नदिने उनले बताए । ‘नेकपाले अर्काको जग्गा खोस्ने काम गरेको छ’ देउवाले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us