नवीकरण नगराएका स्वास्थ्य संस्था बन्द गर्न निर्देशन

काठमाण्डु टुडे २०७६ जेठ २४ गते १५:४१ मा प्रकाशित

लहान, २४ जेठ – लामो समयदेखि नवीकरण नगराएका स्वास्थ्य संस्थाहरुलाई सात दिनभित्र बन्द गर्न सिरहास्थित जिल्ला स्वास्थ्य कार्यालयले निर्देशन दिएको छ ।

नवीकरणका लागि पटक–पटक ताकेता गर्दा पनि बलमिच्याईं गरेर सञ्चालन गरिरहेको जिल्लाका आठ अस्पताल र छ पोलिक्लिनिकलाई सात दिनभित्र बन्द गर्न निर्देशन दिएको हो ।

लहानस्थित लहान लाइफ केयर हस्पिटल, डिभाइन हस्पिटल केयर, फ्रेण्डस हस्पिटल, कामना नर्सिङ होम, सिरहाको गोलबजारस्थित सगरमाथा मोडेल हस्पिटल, माँ धमिनी हस्पिटल, मिर्चैयास्थित रेखा नर्सिङ केयर एण्ड डाइग्नोस्टिक सेन्टरलाई सात दिनभित्र बन्द गर्न निर्देशन दिइएको जिल्ला स्वास्थ्य अधिकृत उमेशलाल कर्णले जानकारी दिए ।

त्यसैगरी लहानस्थित आदित्य मेडिकेयर सेन्टर, वेष्ट राधा कृष्ण डेण्टल क्लिनिक, अलफ्रेण्ड हेल्थ केयर र मिर्चैयास्थित सहलेश पोली क्लिनिक पनि बन्द गर्न निर्देशन दिइएको उनले बताए । उनले नवीकरण नगराएका स्वास्थ्य संस्थालाई दुई महीनाको समय दिइए पनि अटेर गरेकाले कानूनबमोजिम बन्द गरी सम्बन्धित कार्यालयमा जानकारी गराउन भने ।

प्रदेशलाई सुखी र समृद्ध बनाइने

प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेशलाई सुखी र समृद्ध बनाउने प्रदेश सरकारको लक्ष्य रहेको बताएका छन् ।

सप्तरीको मलेठ घटनाका शहीदहरुको स्मृतिमा प्रदेश सरकारले निर्माण गर्न लागेको शहीद स्तम्भ शिलान्यासका क्रममा आज उनले प्रदेशलाई सुखी र आर्थिक रुपमा सम्बृद्ध बनाउन सकिए मात्र शहीदको सपना पूरा हुने भएकाले त्यहीअनरुप प्रदेश सरकारले योजनाहरु बनाएको बताए ।

आफूहरुले संविधान संशोधनको मुद्दामा अझै सङ्घर्ष जारी राखेका छौँ भन्दै राजपाका नेतासमेत रहेका मन्त्री सोनलले संविधान संशोधन नभए आन्दोलनमा उत्रिने चेतावनी दिए ।

गत २०७३ साल फागुन २३ गते तत्कालीन एमालेको मेची महाकाली अभियानका क्रममा प्रहरी र संयुक्त मधेशी मोर्चाका कार्यकर्ताबीच झडप हुँदा प्रहरीको गोली लागेर पाँच जनाको मृत्यु भएको थियो । सो घटनामा शहीद भएकाहरुको सम्झनामा प्रदेश २ सरकारले घटनास्थलमा शहीद स्तम्भ निर्माण गर्न लागेको हो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us