ओखलढुङ्गा, १७ जेठ – काठमाण्डु–रुम्जाटार–विराटनगर नियमित हवाइ उडान हुने भएको छ । शुक्रबारदेखि हरेक साता सङ्घीय राजधानी काठमाण्डुबाट ओखलढुङ्गाको रुम्जाटार हुँदै प्रदेश १ को राजधानी विराटनगरसम्मको हवाइ सेवा सुरु हुने भएको हो ।
करिब तीन वर्षदेखि ठप्प रहेको रुम्जाटार विमानस्थललाई केन्द्र र प्रदेशको राजधानीसँग जोडेर पुनः उडान सुरु गर्ने तयारी भएको प्रदेश सांसद अम्बिरबाबु गुरुङले जानकारी दिए । रुम्जाटार विमानस्थल नियमित सञ्चालनमा आएपछि पर्यटन प्रवर्द्धनसँगै यस क्षेत्रका नागरिकलाई आवतजावतमा निकै सहज हुने उनको भनाइ छ ।
यसअघि गत असोजमा तयारी गरिए पनि यात्रु अभावका कारण रुम्जाटारमा उडान सुरु हुनसकेको थिएन । नेपाल वायुसेवा निगमको विमानले हरेक शुक्रबार रुम्जाटारमा उठान भर्ने तयारी गरिरहेको निगमका क्षेत्रीय प्रबन्धक नारायण पुरीले बताए । अहिले सातामा एक दिन सेवा दिने र यात्रुको चापका आधारमा स्थानीय सरकार र प्रशासनसँग समन्वय गरेर थप अरु दिन पनि उडान भर्ने योजना रहेको प्रबन्धक पुरीको भनाइ छ ।
उनका अनुसार हरेक शुक्रबार काठमाण्डु–रुम्जाटार–विराटनगर र विराटनगर–रुम्जाटार–काठमाण्डु उडान भर्ने निगमको तयारी छ । रुम्जाटारमा नियमित उडान हुने भएपछि जिल्लावासी खुशी भएका छन् ।