कांग्रेस नेताका नाममा खुलेका अस्पताललाई बजेट

काठमाण्डु टुडे २०७६ जेठ १५ गते १७:०० मा प्रकाशित

काठमाण्डु, १५ जेठ – सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुको नाममा खुलेका अस्पतालको सेवा सञ्चालनका लागि वजेट विनियोजन गरेको छ ।

सरकारले कांग्रेसका पूर्वसभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका अस्पतालहरुको सेवा सञ्चालनका लागि वजेट विनियोजन गरेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र तनहँुको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको सेवा सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिए ।

उनले सिराहामा क्यान्सर अस्पताल स्थापना गरेर कांग्रेसका संस्थापन नेता वीपी कोइरालाका नाममा खुलेको क्यानस अस्पतालको सेवा विस्तार गरिने पनि बताए ।

‘बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल सञ्चालन, सिराहामा क्यान्सर अस्पताल स्थापना गरी वीपी कोइराला क्यान्सर अस्पतालको विस्तारित सेवा प्रदान गर्न र जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको सेवा सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरेको छु,’ अर्थमन्त्री खतिवडाले भने ।

यसअघि सरकारले कांग्रेसका पूर्वसभापतिद्वय गिरिजाप्रसाद र सुशील कोइरालाका नाममा खुलेका अस्पताललाई विघटनको प्रक्रियामा लगेको भन्दै कांग्रेसले आन्दोलन गरेको थियो । कांग्रेसको आन्दोलनपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us