
काठमाण्डु, १० जेठ – निजी क्षेत्रको वायुसेवा कम्पनी यति एयरलाइन्सले ७२ सिट क्षमताको एटिआर–७२ जहाज थप गर्ने भएको छ ।
एयरलाइन्ससँग हाल एटिआर ७२–५०० जहाज चार वटा रहेका छन् । ६ वटा जेटस्ट्रिम जहाज पनि भएको एयरलाइन्सले नयाँ जहाज थप्दा जेटस्ट्रिम विस्थापित गर्दै जाने नीति लिएको छ ।
अर्को जहाज ल्याएसँगै ७२ सिट क्षमताका जहाज एयरलाइन्ससँग पाँच पुग्ने छन् । काठमाण्डुबाट तराई क्षेत्रका लामो धावनमार्ग भएका ठाउँमा उडान गर्न मिल्ने यो सिरिजका जहाजले पोखरा पनि उडान गरिरहेका छन् ।
यात्रुको चाप धेरै हुने ठाउँमा सानाको तुलनामा ठूला जहाजबाट व्यापार राम्रो भएपछि एयरलाइन्सहरु पछिल्लो समय ठूला जहाज थप गर्ने प्रतिस्पर्धामा रहेका छन् ।
पछिल्लो समय हवाई यात्रुको संख्या बढेको र सरकारले भ्रमणवर्ष मनाइरहँदा त्यसका लागि चाहिने हवाई पूर्वाधार तयार पार्न पनि जहाज थपिएको एयरलाइन्सले जानकारी दिएको छ ।
एयरलाइन्सले जहाज थप गर्नका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट उडान थपको अनुमति लिइसकेको छ ।