गुडिरहेको जिपबाट हामफालेपछि…

काठमाण्डु टुडे २०७६ जेठ १० गते १०:५३ मा प्रकाशित

काठमाण्डु, १० जेठ – गुडिरहेको जिपबाट हामफाल्दा बैतडीमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–६ का ४० वर्षीय राज कोली रहेका बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए ।

बिहीवार बेलुका गिरेगडाबाट देहीमाडौँतर्फ आइरहेको म१ज ११९ नम्बरको जिपको पछाडि सवार कोलीले पार्सा भन्ने ठाउँमा अर्को गाडीलाई साइडदिन जिप ब्याक गर्दा हामफाल्दा घटना भएको हो ।

गम्भीर घाइते भएका कोलीको उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोलीको बाटोमै मृत्यु भएपछि जिप छोडेर चालक जनक जोशी भागेका थिए । भागेका जोशीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us