
एजेन्सी । भारतीय लोकसभा चुनावको बिहीबार बिहानबाट मतगणना जारी छ । मतगणनाको सुरुवाति परिणामअनुसार भारतीय जनता पार्टी (बीजेपी) अगाडि देखिएको छ ।
सुरुवाति मतगणनामा बीजेपी नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन (एनडीए) ३०० भन्दा बढी सिटमा अगाडि रहेको छ ।
बीजेपी एक्लै २८० भन्दा बढी सिटमा अगाडि रहेको छ । कांग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (यूपीए) १०० आसपास सिटमा अगाडि रहेको छ भने अन्य दल १०० भन्दा बढी सिटमा अगाडि रहेका छन् । ५४३ सिट रहेको भारतीय लोकसभामा सरकार बनाउन २७२ सिट आवश्यक पर्छ ।
भारतमा मात्रै नभई नेपालमा पनि चर्चित रहेको बिहारको बेगुसरायमा ताजा मतगणना अनुसार, बीजेपी उम्मेदवार तथा केन्द्रीय मन्त्री गिरिराज सिंह दुई लाख बढी मतले अगाडि रहेका छन् ।
पछिल्लो परिणामअनुसार गिरिराज सिंहले ३ लाख ५० हजार मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी भारतीय कम्युनिष्ट पार्टीका उम्मेदवार कन्हैयाले एक लाख ५० हजार मत प्राप्त गरेका छन् ।
कन्हैया कुमारले आफूले हारे पनि केही नगुमाउने प्रतिक्रिया दिएका छन् । उनले आफू चुनाव जित्नेमा ढुक्क रहेकोसमेत प्रतिक्रिया दिएका छन् ।
उनले भनेका छन्, ‘सबैभन्दा पहिले त अन्तिम नतिजा के आउँछ भन्ने कुरा हो । मतपरिणाममा हामी पछि परे पनि हाम्रा बीचमा थुप्रै आशाका किरणहरु देखा परेका छन् । विकल्प नहुनुको फाइदा बीजेपीलाई प्राप्त भएको छ । बेगुसरायमा १२ लाख १८ हजार भोट खसेको छ । अहिले केवल ५–६ लाख भोट मात्रै गनिएको छ । मैले पहिले पनि भनेको थिए, मलाई गुमाउनु केही छैन । म अहिले हारिसकेको त छैन । तर यो नम्बर परिवर्तन हुन पनि सक्छ ।’