
काठमाण्डु, ८ जेठ – गएको फागुन १८ गते राति मृत फेला परेका चन्द्रप्रसाद आचार्यको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतले मंगलबार उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर–६ बुद्धपथमा होटल सञ्चालन गर्दै आएका नन्दकला विष्ट, उनका श्रीमान् कृष्ण विष्ट र छोरी बिन्दु विष्टलाई प्रहरीले पक्राउ गरेको हो ।
वीरेन्द्रनगर–६ मा पसल गर्दै आएका आचार्यको शव फागुन १८ गते राति १० बजे वीरेन्द्रनगर ६ बुद्धपथमा भेटिएको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा विष्ट परिवारले हत्या गरेको आंशकामा पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय कर्णालीका प्रमुख प्रहरी नायव महानिरीक्षक महेशविक्रम शाहले जानकारी दिए ।
बुद्धपथस्थित अतिथि होटलको भुइँतलामा जोडिएको सिसिटिभी फुटेजको आधारमा प्रहरीले अनुसन्धान सुरू गरेको उनले बताए ।